• मंसिर ११ २०८१, मंगलवार

भारतलाई देखाएर व्यापारीले चामलको मूल्य बढाए, आपूर्ती मन्त्रालयलाई छैन अत्तोपत्तो

श्रावण १५ २०८०, सोमबार

काठमाडौँ । चामल निर्यात रोक्ने भारतको निणर्यलाई देखाएर व्यापारीले चामलको मूल्य बढाउन थालेका छन् । यही साउनको पहिलो साता भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सम्पूणर् चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस यता, नेपाली बजारमा व्यापारीले ह्वात्तै चामलको मूल्य बढाएका छन् । भारतले निर्यात रोकेको साउन ४ यता नै सबैखाले चामलको मूल्य सरदर १२ रुपैयाँ प्रतिकिलो बढेको छ । तर, भारतले चामल रोकेर व्यापारीले मनोमानी मूल्य तय गर्दासम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यसबारे आधिकारिक खबर पठाइसकेको छैन ।

मन्त्रालयका द्वीपक्षीय व्यापार महाशाखा, (भारत)का निर्देशक तथा श्रीधर गौतमले भारत सरकारले आधिकारिक रुपमा नेपाललाई यसबारे जानकारी नगराएको बताए । यसअघि आफ्नो निणर्यबारे नेपाललाई परराष्ट्रमार्फत् जानकारी गराउने भएपनि अहिले भने यसबारे जानकारी नदिएको गौतमले बताएका हुन् ।

उनका अनुसार मन्त्रालयले भारतको निणर्य वैदेशिक व्यापार महानिर्देशनालयको सूचनाबाट जानकारी पाएको हो । चामल निर्यात रोक्ने भारत सरकारको उक्त निणर्यबाट नेपाललाई ठूलो प्रभाव पर्ने देखिँदैन । किन कि, नेपालले भारतबाट चामलभन्दा ठूलो परिणाममा धान आयात गर्दै आइरहेको छ । र, भारतले धानको निर्यात रोकेको छैन ।

गत आर्थिक वर्ष २०७९/८० मा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको छ । यस अवधिमा ७५ करोड रुपैयाँको धानको बीउ आयात भएको तथ्याङ्क छ । यस्तै, गत आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको चामल आयात भएको तथ्याङ्क छ । उता, चामलको कनिकाको आयातमा २८ करोड रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्ष नेपालमा चामलभन्दा धान धेरै आयात भएको छ । यस्तै, भारतले अहिले धानको निर्यात नरोकेकाले स्वदेशी उद्योग समेत पूणर् क्षमतामा चल्न सक्छन् । तर, पनि व्यापारीले चामलको मूल्य बढाएका हुन् । खास गरी, समस्यालाई धन कमाउने अवसरका रुपमा सदुपयोग गर्ने व्यापारीले भारतको निणर्यलाई आधार बनाएर मूल्य वृद्धि गराएका हुन् ।

जबकि, सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा असोज महिनासम्म पुग्ने चामलको मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दशैंसम्मको माग धान्छ ।
हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ९८ हजार क्विन्टल चामल मौज्दात छ । थप ४० हजार क्विन्टल चामल कम्पनीमा आउँदैछ ।