• जेष्ठ २७ २०८२, सोमबार

हेटौँडाको मुख्य बजारमा पर्ने सडक विस्तार नभए आत्मदाह गर्ने चेतावनी

श्रावण १५ २०८०, सोमबार

मकवानपुर । हेटौँडा उपमहानगरको मुख्य बजार क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग विस्तार नभए सामूहिक आत्मदाह गर्ने चेतावनी दिइएको छ । हेटौँडाकी मेयर मीनाकुमारी लामालाई भेटेर १५ दिनदेखि सडक विस्तारको माग गर्दै अनशन बसिरहेका बाबुछोराले आत्मदाहको चेतावनी दिएका हुन् ।

सडक डिभिजन हेटौँडाले गत १० असारमा सडक विस्तारसम्बन्धी सूचना प्रकाशित गरेपछि सडक क्षेत्रका घरधनी र व्यवसायी आन्दोलित छन् । सडक डिभिजनको म्याद आज सकिँदैछ । सडक क्षेत्रको अतिक्रमित संरचना हटाउने सडक डिभिजनको कदमविरुद्ध घरधनीहरू सर्वोच्च अदालतसम्म पुगेका छन् । सर्वोच्च अदालतले विभिन्न रिटअनुसार १६ साउन र २१ साउनमा छलफलका लागि घरधनीसहित सडक डिभिजन, हेटौँडा उपमहानगरपालिका र भौतिक मन्त्रालयलाई बोलाएको छ ।

सडक डिभिजनले सर्वोच्च अदालतले २०७८ सालमा एक आदेश जारी गर्दै कानुनतः २५ गजभित्रको अतिक्रमित संरचना हटाउन भनेकाले सूचनाअनुसार सडक भत्किने स्पष्ट धारणा राख्दै आएको छ । यसै सन्दर्भमा हेटौँडा-८ का ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजिव तामाङ १ साउनदेखि सडक डिभिजनको गेटमा सडक विस्तारको माग गर्दै निरन्तर अनशन बसिरहेका छन् ।

उनै तामाङ बाबुछोराले सोमबार मेयर लामालाई हेटौँडाको बजार क्षेत्रको सडक फराकिलो नभए सामूहिक आत्मदाह गर्ने धम्की दिएका हुन् । हेटौँडा बजार क्षेत्रको सडकमा दुर्घटना बढ्दै गएको र बजारको स्वरुप बिग्रिएको भन्दै उनीहरूले सडक विस्तार रोक्न बाधक नबन्न मेयर लामासमक्ष माग राखेका हुन् ।

एसियन हाइवेका रूपमा रहेको राजमार्ग विस्तार नहुँदा अन्य जिल्लाको तुलनामा हेटौँडा पछि परेको भन्दै सडक विस्तारले समग्र देशको विकासमा मद्दत गर्ने भएकाले यसलाई रोक्न नहुने तामाङ बाबुछोराको भनाइ छ । छोरा राजिवले अनशनमा बस्नुको कुनै स्वार्थ नभएको भन्द हेटौँडालाई सुन्दर बनाउनेतर्फ ध्यान रहेको बताए ।

सडक डिभिजनबाट सडकका अतिक्रमित घरटहरा हटाउन जारी भएको सूचनाको म्याद १५ साउनसम्म अनशन बसिएको र भोलि (१६ साउन) बाट सडक विस्तारको काम नभए आमरण अनशन बस्ने मेयर लामालाई बुझाएको ध्यानाकर्षण पत्रमा तामाङले चेतावनी दिएका छन् ।

पत्रमा हेटौँडाको संरचना भत्काउने योजनाबाट सडक डिभिजन पछाडि हटेमा कुनै पनि बेला सामूहिक आत्मदाह गर्ने उल्लेख छ । सडक डिभिजनले राजमार्गको हेटौँडा-१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्र बुद्धचोक हुँदै राप्ती पुलसम्मको दायाँ-बायाँ सडक २५-२५ गजभित्र पर्ने अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरेको थियो