• फाल्गुन २६ २०८२, मंगलवार

कब्जा गरिएको भूमि फिर्ता नहुने शर्तमा युक्रेनसित वार्ता गर्न तयार छौं : पुटिन

श्रावण १४ २०८०, आईतवार

सेन्टपिटर्स बर्ग । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार भएको बताएका छन् । रुसको सेन्ट पिटर्सबर्गमा अफ्रिकी राष्ट्रका नेताहरूले रुस र युक्रेन युद्ध अन्त्य हुनुपर्छ भनेर धारणा राखेपछि पुटिनले आफू युक्रेनसँग शान्ति वार्ता गर्न तयार भएको बताएका हुन् ।

यसअघि गत मार्च महिनामै चीनले पनि वार्तामार्फत रुस-युक्रेन युद्ध अन्त्य गराउन पहलकदमी चालेको थियो । अफ्रिकी नेताहरूको शान्ति वार्ताको धारणा र चिनियाँ योजनाले युद्ध रोकिन सक्ने भएता पनि पुटिनले केही सर्तहरू युक्रेनसमक्ष खडा गरिदिएका छन् । जसले युद्ध रोक्ने र शान्ति वार्ता गर्ने सम्भावनालाई झनै पर धकेल्न सक्छ । युक्रेनले सन् १९९१ को दशककै जस्तो रुस र युक्रेनको सीमा हुनुपर्ने माग गरिरहेको छ । अर्थात् युक्रेन सन् २०१४ मा रुसमा गाभिएको क्राइमियासँगै अहिले अतिक्रमण गरिएको भू-भाग रुसबाट फिर्ता चाहन्छ ।

युक्रेनी भू-भागबाट रुसी सेना नफर्किएसम्म युद्ध रोक्ने कुनै वार्ता नगर्ने त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउँदै आएका छन् ।
यता पुटिनले भने युक्रेनले अब आफ्नो देशको नयाँ क्षेत्रीय वास्तविकतालाई स्वीकार गर्नुपर्छ भनेका छन् । यसको अर्थ पुटिन क्राइमिया युक्रेनलाई फर्काउन त तयार छैनन् नै, त्यति मात्र नभएर गत वर्षयता रुसी सेनाले कब्जा गरेको युक्रेनका पछिल्ला भू-भागहरू पनि आफूले फिर्ता नगर्ने रुसी भनाइ छ ।

यसको मतलब रुस र युक्रेन आ-आफ्नै अडानमा अडिग हुँदासम्म यो युद्ध चल्नेछ । युक्रेनी जवाफी हमला कमजोर बनेको आशंकाबीच अहिले पश्चिमा राष्ट्रको हतियार प्राप्त गरेको युक्रेनले रुसी रक्षात्मक किल्ला भत्काउन नयाँ योजनाहरू बनाइरहेको छ भने नयाँ हतियारको खोजी पनि गरिरहेको छ ।