सम्विधानका कुरा हटाऊ
भागवत पाठ गराऊ रमेश
बन्द गर विज्ञानका कुरा
ज्योतिष हेराउन जाऊ रमेश ।
यो साल पापको घडा थ्यो भारी
शायद भएको थ्यो घोडसवारी
गाँजा चिलिम भाङ चढाऊ
रमेश फेरि कावड उठाऊ ।
हेर त मुस्लिम कमाएर आउँछन्
एक पटक अनिवार्य हज गर्न जान्छन्
तिमी पनि अब चारधाम जाऊ
रमेश तिमी पनि यज्ञ गराऊ ।
उनीहरूका धर्ममा किताब महान
हामी पनि कहाँ छौं र कम महान
संस्कारतिर पाइला चलाऊ
मनुवादलाई खुब बढाऊ ।
कोही मुखबाट जन्मे भने
कोही पैतालाको धूलोबाट
श्रीमतीलाई खिर खुवाएर
प्रकृति पूजा गर रमेश ।
जसले सूर्य समेत निल्न सक्यो
तर पुच्छरको आगो खप्न सकेन
यस्तो काल्पनिक बज्राङ्गको
हामीलाई नि दर्शन गराऊ रमेश ।
पाण्डा पुरोहितलाई पदवी प्यारो
यसरी नै उनीहरूले पिढी चलाए
एउटा हातले दान गर
अर्को हातले घण्टी बजाऊ ।
आरक्षणको माग नगर
झोला बोक बाहिर निस्क
ग्रहदशा म भगाइदिन्छु
मलाई हात हेराऊ रमेश ।
कवि : बच्चालाल ‘उन्मेष’
अनुवादक : मुक्ति पथिक
(‘कुन जातका हौ भाई’ कविता संग्रहबाट..)