• जेष्ठ २७ २०८२, सोमबार

धेरै पीडा नहोस् भनेर अस्ट्रेलियामा ५१ ह्वेल माछा मारियो

श्रावण ११ २०८०, बिहीबार

काठमाडौं । अस्ट्रेलियामा ५१ वटा ह्वेल माछालाई धेरै पीडा नहोस् भनेर मारिएको छ । सामूहिक रूपमा पानी बाहिर निस्किएपछि ती ह्वेलहरू छटपटाइरहेका थिए ।

सुरुमा सबै ह्वेललाई बचाइएता पनि फेरि ह्वेलहरू पानी बाहिर नै आएपछि धेरै पीडा नहोस् भनेर ५१ पाइलट ह्वेलहरू मारिएको सीएनएनले जनाएको छ । २ सय ५० बढी स्वयमसेवक, पशु चिकित्सक र सामुद्रिक जीवन विशेषज्ञहरू सम्मिलित एउटा टोलीले ह्वेलहरूलाई उद्धार गरेर पानीमै लगेका थिए ।

फेरि उनीहरू पानी बाहिर नै आएपछि पीडामा थिए र बाँच्नसक्ने अवस्थामा थिएनन् । त्यसपछि ती ह्वेलहरू ‘युथनाइज’ गर्नुबाहेक उत्तम विकल्प अरु केही नभएको विज्ञ बताउँछन् । ह्वेललाई पीडा नदिई मार्ने कार्यलाई युथनाइज भनिन्छ । ह्वेलहरू समुद्र बाहिर जाने कार्यलाई स्ट्रान्डिङ भन्ने गरिन्छ । किन ह्वेलहरू यसरी समुद्रबाहिर जान्छन् यसको कारण राम्रोसँग खुल्न सकेको छैन ।

वन्यजन्तु अनुसन्धानकर्ता भेनेसा पिरोटाका अनुसार ह्वेलहरू शिकारीबाट बच्न पानीबाहिर निस्किएको हुनसक्छन् । पाइलट ह्वेलहरू बलियो सामाजिक बन्धनको लागि प्रख्यात छन् । जब एउटा ह्वेल समुद्रबाट बाहिर निस्कन्छ त्यसपछि बाँकी ह्वेलले पनि सोही कार्य पछ्याउँछन् ।

वाइल्डलाइफ फ्लोरिडा अर्गनाइजेसनका अनुसार हरेक वर्ष विश्वभर २ हजार ह्वेल समुद्रबाहिर गएर मर्ने गरेका छन् । खराब मौसम, बढ्दो उमेर, किनार छेउमा सिकार गर्दा साथै बसाइ-सराइका क्रममा बाटो भुल्दा पाइलट ह्वेलहरू किनारमा निस्कने र मर्ने गरेको विज्ञहरू बताउँछन् ।

गत सेप्टेम्बरमा पनि अष्ट्रेलियाको तस्मानियाको तटमा करिब २ सय पाइलट ह्वेल समुद्र बाहिर गएका थिए । त्यसबेला ३५ ह्वेल बाँचेका थिए । तस्मानियाको सबैभन्दा ठूलो स्ट्र्यान्डिङ २०२० मा थियो, जब ४ सय ५० भन्दा बढी पाइलट ह्वेल पानी बाहिर फेला परेका थिए । यस महिनाको सुरुमा पनि स्कटल्यान्डमा ५० भन्दा बढी पाइलट ह्वेल मृत अवस्थामा भेटिएका थिए ।