काठमाडौं । मनसुनको सुरुवातसँगै डेंगुलगायत चिकेनगुनियाजस्ता लामखुट्टेबाट सर्ने रोग बढ्न थालेका छन् । मंगलबारसम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले ६९ जिल्लामा डेंगु फैलिसकेको जनाएको छ । इडिसिडीका अनुसार जनवरीदेखि जुलाइसम्म सात महिनामा डेंगुबाट सात जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय ८९ जना संक्रमित भइसकेका छन् ।
डेंगु एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । गर्मी क्षेत्र(ट्रोपिकल एरिया)मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लाहरूमा मात्रै नभई हिमाली जिल्लामा पनि देखा परेको छ । हिमाली जिल्ला सखुवासभामा यो वर्ष ६० भन्दा बढीमा डेंगु देखिएको छ ।
हालसम्म सबैभन्दा बढी कोसी प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । कोसी प्रदेशमा मात्रै हालसम्म २ हजार ४ सय ५७ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा बाग्मती प्रदेशमा ६ सय ६७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ३ सय ४४ जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा संक्रमितको संख्या २० जना रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत सोमबारसम्मको तथ्यांकनुसार हालसम्म १० जिल्लालाई डेंगु उच्च संक्रमित भएको सूचीमा राखिएको छ । जसमा सबैभन्दा बढी सुनसरीमा हालसम्म २ हजार ५ सय ४२ जना डेंगुबाट धेरै संक्रमण हुनेमा पर्छन् । त्यस्तै, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जना डेंगु संक्रमित भइसकेका छन् ।
नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६मा तराईका ९ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने, २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० मा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगु भाइरस बोकेको लामखुट्टेले फूल पार्दा ती फूलमा पनि भाइरस ट्रान्सफर हुन्छ । व्यस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगु भाइरसको संक्रमण भइसकेको हुन्छ । एक अनुसन्धानका अनुसार डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुने गरेको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्ने गर्दछ । सबैभन्दा बढी सक्रिय २५ देखि २६ डिग्री तापक्रम हुँदा पाइएको छ । यो लामखुट्टेले साँझ र विहान टोक्ने गर्छ ।
नेपालको सन्दर्भमा फरक फरक वर्षमा डेंगीको प्रकोप देखिने गरेको छ । जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च विन्दुमा पुगेपछि विस्तारै घट्ने गरेको त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सह–प्राध्यापक रेश्मा तुलाधारसहित ७ जना अनुसन्धानले देखाएको छ ।
डेंगुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस भनिन्छ । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र क्षेत्रमा पाइन्छ ।
लामखुट्टेले डेंगु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यस व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ । डेंगु ज्वरो चार प्रकारका डेंगु भाइरसमध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिसँगै बसेर डेंगु ज्वरो सर्दैन, बरु लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्छ ।
डेंगु ज्वरोबाट निको भएपछि मानिसलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगुबाट हुने ज्वरोका भाइरस प्रकारहरूमा हुँदैन । यसको मतलब मानिसमा भविष्यमा अन्य तीन भाइरस प्रकारहरूमध्ये एकद्वारा फेरि संक्रमित हुनसक्ने सम्भावना हुनसक्छ । दोस्रो, तेस्रो वा चौथोपटक डेंगु ज्वरो आएमा गम्भीर डेंगु ज्वरो आउने खतरा बढ्छ । डेंगु सार्ने लामखुट्टे तापक्रम बढ्दा पाचनप्रक्रिया पनि चाँडो हुँदा टोक्ने दर पनि बढ्छ । जसले गर्दा यी प्रजातिको वृद्धिदर पनि सोही अनुपातमा हुने गर्छ । प्रायः यी लामखुट्टे ३५ डिग्री तापक्रम नाघेपछि निष्क्रिय हुन्छन् ।