• जेष्ठ २७ २०८२, सोमबार

लघुवित्त पीडितका माग तत्काल पूरा गर्न राष्ट्रिय क्रान्तिकारी मोर्चाको माग

श्रावण १० २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले लघुवित्त पीडितका माग तत्काल पूरा गर्न सरकारसित माग गरेको छ । मोर्चाको तर्फबाट संयोजक नारायण शर्माले आज एक विज्ञप्ति मार्फत् यस्तो माग गरेका हुन् ।

शर्माले आज लघुवित्त पीडितहरुका तर्फबाट अध्यक्ष मणिराम ज्ञवाली लगायतका पाँच जना पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसन गरेको १४ दिन पुगेको, क्रममा पीडितहरुले सभा, जुलुस, धर्ना, चक्काजाम लगायतका आन्दोलनका विभिन्न कार्यक्रम गर्न लागेको भने महिनौं भएको तर पनि अनशनकारीहरु मरणासन्न हुँदा पनि सरकारले भेटघाट, सोधपुछ र वार्ता प्रकृया आदि कुनै कुरा सुरु नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

संयोजक शर्माले पीडित जनताका पीरमर्काहरुको कुनैपनि सुनुवाइ नगरेको मात्र होइन कि सुन्ने नियत र आँटसम्म पनि नगरेकोप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शर्माको विज्ञप्तिमा भनिएको छ,‘यतिबेला देशमा लघुवित्त, सहकारी, फाइनान्स लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट र मिटरब्याजे साहूहरुबाट गरीब-दुखी किसान-मजदुरहरु र साना उद्योगी-व्यवसायीहरु, थोरै बचतकर्ताहरु र पेवा बचतकर्ता महिला आमा-दिदीबहिनीहरु अत्यन्त अमानवीय, अन्याय, अत्याचार र अपमानपूर्ण  शोषण-दमन र उत्पीडनमा परेका छन् । यसरी निर्धा-निमुखा जनसाधारणहरुका बचत गरेका पैसा मात्र होइन कथित ऋृण-कर्जाका नाममा चर्को ब्याज, स्याज, जरिमानाजस्ता विभिन्न अस्वाभाविक, अनावस्यक र अतिशयजन्य कृयाकलापका कारण घरजग्गा लिलाम भई लुटिएर उनीहरुलाई गासबास र कपासविहीन तुल्याई रुवाबास र बिल्लिबाँठ पारिएको छ । तर परम आश्चर्य र चरम खेदको कुरा अझ के भएको छ भने आफूलाई शोषित-पीडित जनताको मुक्ति र प्रगतिको लागि दशवर्षे जनयुद्ध गरेर सत्र हजारको बलिदानको जगमा बनेको गर्व गरेर नथाक्ने नेकपा माओवादी केन्द्र र त्यसका सार्वकालिक नेता प्रचण्डको नेतृत्वको वर्तमान सरकारले यस्तो आन्दोलनको कुनै सुइँकोसम्म पनि नपाएझैं गरेर अनदेखा गर्दै बुझ पचाइरहेका छन् । यसको कारण स्पष्ट छ कि पार्टी र सरकारका उच्चपदस्थ नेता-शासकहरु नै यी शोषक संस्था र व्यक्तिहरुसँग मिलोमतो गरेर दलाली खाइरहेका छन् र उनीहरु त यी शोषक-साहूहरुको संरक्षण गर्दै शोषित-उत्पीडित जनसमुदायहरुलाई ‘जेसुकै गरून्, मरे पनि मरून्’ भन्ने आपराधिक मानसिकतामा पुगेका छन् । हामी यो लाल आवरणको दलाल सरकारको यस्तो ढोंगी र पाखण्डी चिन्तन, चरित्र र काम-व्यवहारको घोर निन्दा र भत्सर्ना गर्न चाहन्छौं । साथै, आमरण अनसनमा बसेका लघुवित्त पीडितहरु लगायत सम्पूर्ण  आन्दोलित शोषित-पीडित जनसमुदायहरुका जायज र न्यायपूर्ण  सबै मागहरु तत्काल पूरा गरोस् भन्न चाहन्छौं ।’

सरकारलाई चेतावनीको भाषामा शर्माको विज्ञप्तिमा भनिएको छ,‘यसक्रममा हामी चेतावनी दिन चाहन्छौं कि सरकारले पीडित आन्दोलनकारीहरुसंँग सफा नियतले इमान्दारीपूर्वक अविलम्ब वार्ता गरोस् अनि समस्याको शान्तिपूणर् र वैधानिक रुपले सरल, शीघ्र र समग्ररुपमा स्थायी समाधान देओस् ! अन्यथा, देशभरिका सबै प्रकारका सम्पूणर् शोषित-पीडित जनसमुदायहरुको एकताबद्ध, संयुक्त र सशक्त निर्णायक आन्दोलनको शिकार बन्न वर्तमान दलाल पुँजीवादी सत्तासँगै यो प्रतिक्रियावादी प्रचण्ड नेतृत्वको गठबन्धन सरकार, संसदवादी पार्टी र व्यवस्था आफूहरुको अन्त्यको दृष्य हेर्न र भोग्न तयार होऊन् ! तसर्थ, सर्वप्रथम आमरण अनसनमा बस्नुभएका आन्दोलनकारीहरुको बाँच्न पाउने विश्वव्यापी मानव अधिकारको सम्मान गर्दै शीघ्रातिशीघ्र वार्ता सुरु गरेर माग पूरा गरी जीवन रक्षा गर्न जोडदार माग गर्दछौं ! होइन भने यसबाट उत्पन्न गम्भीरतम र जटिलतम परिणामको मुख्य जिम्मेवार स्वयं प्रचण्ड, उनको नेतृत्वको सरकार र दल नै हुनुपर्ने छ भन्ने स्मरण गराउन पनि चाहन्छौं ।’