• जेष्ठ २७ २०८२, सोमबार

३४ प्रतिशतले घट्यो मोबाइल आयात

श्रावण १० २०८०, बुधबार

काठमाडौँ। एक वर्षको अवधिमा मोबाइल फोन आयात ३४ प्रतिशतले घटेको छ।भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ मा ४१ अर्ब १५ करोड रूपैयाँ बराबरको ६० लाख ३२ हजार मोबाइल सेट आयात भएको थियो।

आर्थिक वर्ष २०७९-८० मा ३९ लाख ३५ हजार मोबाइल सेट आयात भएको विभागको तथ्यांकले देखाएको छ। सो परिमाणको मोबाइल आयातको लागि २६ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ।

आर्थिक वर्ष २०७८-७९ को तुलनामा यो ३४ प्रतिशतले न्यून हो।मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याद्योका अनुसार मोबाइलको आयात घट्नुको प्रमुख दुई कारण छन्।

व्यक्तिको क्रयशक्ति घट्नु रअवैधानिक तरिकाले फोन भित्रिनु नै मोबाइल आयातको मुख्य कारण भएको बताएका छन् । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय खस्केको छ। कतिपय कम्पनीले रोजगारी कटौती गरेका छन् भने रोजगारी दिएका कम्पनीले पनि समयमै पारिश्रमिक दिन सकेका छैनन्। त्यसले गर्दा व्यक्तिको क्रयशक्ति घटेको छ।

खुला सिमानाका कारण अवैधानिक फोन भित्रिएका कारण पनि भन्सारको तथ्यांकमा आयात घटेको दिनेश बताउँछन्। उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा धेरै फोन भित्रिएकाले पनि आर्थिक वर्ष २०७९-८० मा कम फोन आयात भएको हो।