काठमाडौं । ठमेलको चर्चित नाइट क्लब लड्र्स अफ ड्रिम्स (एलओडी) मा बालिकालाई प्रवेश गराएको घटनामा म्यानेजरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ। सञ्चालकद्वयलाई भने उन्मुक्ति दिइएको छ।
एलओडीमा नाबालिकालाई प्रवेश दिएको र पछि ती नाबालिकालाई एक युवाले आफ्नो घरमा लगेर बलात्कार गरेको घटना बाहिरिएपछि एलओडीमाथि पनि अनुसन्धान अघि बढाइएको थियो। सो क्रममा एलओडीका सञ्चालकद्वय रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए। पछि उनीहरुलाई प्रहरीले हाजिरी जमानीमा छाडेको थिए।
सञ्चालकद्धय हिरासतमुक्त भएपछि प्रहरीले एलओडीका कर्मचारीका कारण बालिकाले क्लबमा प्रवेश पाएको खुलेपछि कर्मचारीलाई पक्राउ गरेको थियो। सो क्रममा एलओडीका म्यानेजर सहदेव सेढाई, काउन्टर स्टाफ सपना ढुंगाना पक्राउ परेका थिए। पछि ढुंगाना हाजिरी जमानीमा रिहा भएकी थिइन् भने एलओडीका सीईओ रविन श्रेष्ठलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ।
उनीहरुविरुद्ध बालबालिकासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो। बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३३ को उपदफा (२) (क) र (ख) बमोजिमको कसुर गरेकाले सोही अनुसारको कारबाही माग गरिएको छ। जसअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद हुनसक्ने व्यवस्था उल्लेख छ।