काठमाडौँ । नेपालमा पुसयता ४ हजार २८९ जनामा डेंगी संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हालसम्म संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै सुनसरीका रहेका महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए । डा. मरासिनीले यो वर्ष पनि बर्खा सुरु भएसँगै डेंगी संक्रमण बढ्न थालेको बताएका छन् ।
महाशाखाको सोमबारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी सुनसरीमा २ हजार ५४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, धादिङमा ४०१, कास्कीमा २०५, दार्चुलामा १९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जनामा डेंगीको संक्रमण भेटिएको छ ।
डेंगीबाट जोगिन सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो । यसका लागि सरकारले डेंगी प्रभावित क्षेत्रमा लामखुट्टेविरुद्धको ‘खोज र नष्ट’ अभियान सञ्चालन गर्दै आइरहेको छ । तर, पनि यो अभियान प्रभावकारी भने बन्न सकेको छैन । डेंगी नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको थियो ।