• जेष्ठ २७ २०८२, सोमबार

सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

श्रावण ९ २०८०, मंगलवार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन् ।

मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले सो प्रकरणको जरैसम्म पुग्न निर्देशन गरिसकेको बताए । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार अन्त्य गर्ने अभियानमा लाग्दा आफूलाई बिभिन्न तत्वले असफल बनाउन खोजेपनि आफू अघि बढ्ने उल्लेख गरे।

उनले भ्रष्टाचारीहरुको नेक्सस ठूलै रहेकाले बिभिन्न ढंगबाट यो अभियानलाई रोक्न खोज्नु स्वभाविक भएको, तर त्यसलाई असफल पारेरै छाड्ने प्रतिवद्धता ब्यक्त गरे । गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध, सुशासनको अभियान अगाडि बढाउन र संवृद्धिको लक्ष्य हाँसिल गर्न प्रतिवद्ध रहेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण तथा झण्डै सय किलो सुन प्रकरणमा प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले सबै निकायलाई समन्वय गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालको नयाँ ढंगले सुरक्षा व्यवस्थन मिलाउने पनि बताए।