• जेष्ठ २७ २०८२, सोमबार

जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशाला बन्ने

श्रावण ८ २०८०, सोमबार

काठमाडौँ । जनकपुरमा आठ वर्षदेखि अलपत्र रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालामा बन्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४, रजौलमा सुविधासम्पन्न रंगशाला बनाउन जग्गाको व्यवस्थापन भए पनि काम अगाडि बढ्न सकेको थिएन ।

मधेस प्रदेश सरकारको विशेष पहलमा उक्त रंगशाला निर्माण हुने भएको छ । जनकपुरधाम भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेअनुसार एक सय करोड भारतीय रुपैयाँको लागतमा रंगशाला निर्माण हुने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७५ वैशाख २७ गते जनकपुर भ्रमणको बेला बाह्र बिगाहा मैदानमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दैै जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपमा विकास गर्न एक सय करोड रुपैयाँ स्वेच्छिक रुपमा अनुदान दिने घोषणा गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बीच तालमेल नमिल्दा मोदीले घोषणा गरेको उक्त रकम आउन सकेको थिएन । तर, मधेस प्रदेश सरकारको विशेष सक्रियतामा उक्त अनुदान रकमबाट अब रंगशाला निर्माण हुने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विगत केही दिन अघि रंगशाला निर्माणस्थलको निरीक्षण गर्दै मोदीले घोषणा गरेको अनुदान रकमले रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए । सोही अनुरुप उनले गत शनिबार भारतीय राजदुत नवीन श्रीवास्तवसँग भेट गरी रामजानकी रंगशाला निर्माणका लागि छलफल गरेका छन् ।