काठमाडौं । व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले गृह मन्त्रालयमा सिफारिस गरेको छ।
हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरिएको हो। प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख गरिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले डीएसपी केसीलाई बर्खास्त गर्न गृहलाई परिपत्र गरिएको जानकारी दिए ।
प्रहरी नियमावलीको दफा ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्न सकिनेबारे उल्लेख गरिएको छ। त्यसमा पनि भविष्यमा सरकारी सेवामा प्रवेश गर्न मिल्ने र नमिल्ने गरी हटाउन सकिने उल्लेख छ। भ्रष्टाचार प्रमाणित भएमा, नैतिक पतन देखिने फौजदारी अभियोग पुष्टि भएमा, कुनै देशको स्थायी आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि आवेदन दिएमा लगायतको अवस्थामा भने पुन: सरकारी सेवामा प्रवेश गर्न नमिल्ने गरी बर्खास्त गर्न सकिने नियमावलीले उल्लेख गरेको छ।