• जेष्ठ २७ २०८२, सोमबार

इटलीमा प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त

श्रावण ८ २०८०, सोमबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला इटाली भ्रमणमा छन् । इटली भ्रमणमा रहेका उनले त्यहाँ राजनीतिक भेटघाट सुरु गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटलीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहालले राजनीतिक भेटघाट सुरु गरेका हुन् ।

इटलीमा रहेका प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममा आज (सोमबार) हुने भियनास्थित नेपाली दूतावासले जनाएको हो ।

दाहालले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने त्यसपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ । साथै, प्रधानमन्त्री दाहाल त्यहाँ रहँदा खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ)कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसहितको टोली इटाली गएको छ । प्रधानमन्त्री दाहाल साउन १० गते राती स्वदेश फर्कने छन् । समिट जुलाइ २६ सम्म इटलीमा हुँदैछ ।

Tags : इटली पुष्पकमल दाहाल ‘