• फाल्गुन २६ २०८२, मंगलवार

भागेर उत्तरकोरिया पुगेका अमेरिकी सैनिकले कोरोना सार्ने डरले उनलाई तत्काल छोडिने सम्भावना कम

श्रावण ७ २०८०, आईतवार

प्योङ्याङ । उत्तर कोरियाली मामिलाका विशेषज्ञहरू २३ वर्षे अमेरिकी सेना ट्र्याभिस किङ उत्तर कोरियाको हिरासतबाट सजिलै छुट्न नसक्ने बताउँछन् ।

पहिलो त उत्तर कोरियाले अमेरिकीहरूलाई ज्यादै कडाइ गर्छ । किनभने सन् १९९६ यता उत्तर कोरियाले कयौँ अमेरिकी नागरिक हिरासतमा लिइसकेको छ । उत्तर कोरियाले अमेरिकीहरूलाई हिरासतमा लिँदा कठोर यातना दिने गरेको इतिहास छ ।

सन् २०१८ मा अमेरिकी विद्यार्थी ओटो वार्मबियरलाई उत्तर कोरियाले हिरासतमा लिएर छाडेको थियो । तर, जब उनी अमेरिका फर्काइए, उनी अचेत थिए र अमेरिका फर्किएको केही समयमै उनको मृत्यु भयो । त्यसो त यतिबेला अमेरिकाले ट्र्याभिसलाई तत्काल उत्तर कोरियाबाट फर्काउन हरसम्भव प्रयास गरिरहेको छ ।

अमेरिकी सरकारका अनुसार दक्षिण कोरियास्थित अमेरिकी सेनाले उत्तर कोरियासँग सञ्चार स्थापित गर्न खोज्दा कुनै जवाफ आएको छैन । अर्को मुख्य कारण चाहिँ उत्तर कोरियाले अहिलेसम्म कोरोना महारमारीको प्रतिबन्ध टुंग्याएको छैन । यसको अर्थ कोरिया अझै लकडाउनकै अवस्थामा छ ।

यसअघि उत्तर कोरियासँग सैन्य छलफल गरिसकेका पूर्वदक्षिण कोरियाली ब्रिगेडर जनरल मुन सिओङ-मोकका अनुसार अमेरिकी सेना उत्तर कोरिया भागेपछि प्योङयाङलाई कोरोना भाइरस फैलिने त्रास झनै बढ्नेछ । जसका कारण अब अमेरिकी सेना ट्र्याभिसलाई अमेरिका फर्काउन अझै केही वर्ष लाग्नसक्छ ।

नेसनल स्ट्राजेजिज युनिफिकेसन स्ट्राटेजी सेन्टरको कोरिया रिसर्च इन्स्टिट्युटका प्रमुखसमेत रहेका मुन यस विषयमा भन्छन्, ‘उत्तर कोरियामा अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाइएको छैन । त्यसकारण उनीहरू कोरोना महामारीदेखि अझै पनि सजग छन् र कडा उपाय अपनाउन पछि पर्दैनन् ।’

दक्षिण कोरियाको राजधानी सोलस्थित कोरिया रिस्क ग्रुपका निर्देशक आन्द्री लान्कोभका अनुसार उत्तर कोरिया बाहिरी विश्वसँग अन्तरक्रिया गर्न चाहँदैन, जसका कारण पनि अमेरिकी सेना ट्र्याभिसलाई चाँडै फर्काउन असम्भव छ । उनी पनि यस विषयमा भन्छन्, ‘उत्तर कोरिया भाग्ने अमेरिकी सैनिक कोरोनाविरुद्धको प्रतिबन्ध नसकिन्जेलसम्म त्यहाँबाट फिर्ता पठाइने छैनन् । उनी अझै दुई, तीन या चार वर्ष उत्तर कोरियाली हिरासतमै रहनेछन् ।’

गत मंगलबार अमेरिकी सेना ट्र्याभिस असैनिकीकृत क्षेत्र डीएमजेटबाट उत्तर कोरिया भागेका थिए । अनुशासन कारबाहीमा परेका उनले दक्षिण कोरियाली प्रहरीको कारमा तोडफोड गरेका थिए भने बारभित्र एक व्यक्तिमाथि कुटपिट गरेका थिए ।

अमेरिका फर्काउने प्रक्रिया चलिरहँदा उनी उत्तर कोरिया भागेका हुन् । जसकारण अब उनलाई तत्काल उत्तर कोरियाले फिर्ता नपठाउने विश्लेषण भइरहेका छन् ।-रोयसर्टको सहयोगमा