• जेष्ठ २७ २०८२, सोमबार

नेपाल आउने चीनको अर्को उच्चस्तरीय टोलीको भेटघाटको तारतम्य मिलाउँदै ‘सरला’

श्रावण ६ २०८०, शनिबार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । युयान च्या जुनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छिन् ।

शनिबार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याले कम्युनिस्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

नेपाल-चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ । नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरूको नेपाल आउने क्रम पनि बढेको छ । अमेरिकी नेताहरु एमसीसी लागु गराउनेमा दबाब दिइरहेका छन् भने चिनियाँ अधिकारीहरु बीआरआईको कार्यान्वयनको दौरानमा छन् ।

अमेरिकी एमसीसी सैन्य योजनासहितको कार्यक्रम हो । यसले नेपालका जलस्रोतमा लगानी गर्नेछ र विजुली भारतलाई बेच्नेछ भने चिनियाँ बीआरआई भने विशुद्ध विकास साझेदार परियोजना हो ।

नेपालमा बीआरआई परियोजना लागू गर्नुपर्छ भन्ने जनमत बढी छ भने एमसीसी सैन्य योजनासहितको लगानी भएकोले यसलाई लागू गर्दा नेपाललाई नोक्सान हुने र अमेरिकाले चीनविरुद्ध गतिविधि गर्ने वातावरण तयार हुनेभएको यसलाई लागू गर्न नहुने तर्क बलियो बन्दै गएको छ ।

बीआरआई ओली सरकारकै पालामा अनुमोदन भएको हो भने एमसीसी गतवर्ष शेरबहादुर देउवाको पालामा निकै ठूलो विरोधकाबीचबाट व्याख्यात्मक घोषणाको नाममा संसदबाट पास गरिएको हो ।