• मंसिर ११ २०८१, मंगलवार

विश्वास, पूर्वाग्रह र बाँदरको चाल

श्रावण ६ २०८०, शनिबार

राजनीतिक पार्टीका आमकार्यकर्ताले आफ्नो पार्टीले गरेका हरेक निर्णय सही ठान्ने र अन्य पार्टीले गरेका हरेक निर्णय, आफ्नो पार्टीले गरेका निर्णयभन्दा फरक छन् भने गलत ठान्ने प्रवृत्तिमा विश्वास र पूर्वाग्रहले काम गरिरहेको हुन्छ । नेपाली राजनीतिमा विश्वास पूर्वाग्रह यति चरम छ कि आफ्नो नेताले २ प्लस २ बराबर ५ हुन्छ भने पनि त्यसमाथि विश्वास गरी जबर्जस्ती प्रमाणित गर्ने प्रयास गरिन्छ ।

समाजमा विभेदको जन्मदाता पनि यही विश्वास पूर्वाग्रह हो । भोलिपर्सि सुधार हुँदै जाला (केही सुधार पनि भएको छ) तर अहिलेको अवस्थामा कसैले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि सामाजिक यथार्थ भने भिन्न छ । के कुनै बाहुनले खुसीखुसी दलितको छोरालाई छोरी दिन्छ ? के छोरालाई दलितको छोरी माग्न जान्छ ? छोराले दलितको छोरी भगाएर ल्यायो भने खुसी हुन्छ ? के छोराले ल्याएको दलितको छोरीलाई घरभित्र पस्न दिन्छ ?

यो विश्वास पूर्वाग्रह बाहिर मात्र होइन, दलितभित्र पनि देखिन्छ । सुनको पेसा गर्नेले आरन चलाउनेलाई त्यो फलानो हो, म फलानो हँु, त्यसभन्दा म ठुलो हुँ भन्ने संज्ञानात्मक पूर्वाग्रह अहिले पनि मनग्य छ ।

मानिसहरूमा विश्वास पूर्वाग्रह रातरात विकास हुने होइन, अधिकांश मानिसलाई आफूमा विश्वास पूर्वाग्रह विकसित हँुदै गएको छ भन्ने पत्तोसमेत हुँदैन । जस्तो कि मानिस पनि एकैचोटि होइन, बाँदरझैं पालैपालो पिंजडाभित्र पस्छन् अनि पुरानाले जे सिकाउँछन्, त्यही सिक्छन् र जे सिकेका छन्, नयाँलाई त्यही सिकाउँछन् । यसरी नै हाम्रो घरपरिवार, समाज तथा राजनीति चलिरहेको छ ।

नेपालको दलीय राजनीति त झन् काटीकुटी ठ्याक्कै यस्तै छ । त्यसैले, संसार बदल्छु भन्दै मुठी कसेर राजनीतिमा होमिएको एक इमानदार युवक कालान्तरमा भ्रष्टाचारको दलदलमा रमाउनुको कारण पनि यही हो । त्यो ’cause पार्टीको उच्च पद र सत्तामा पुगेपछि उसले सिक्ने भनेको नै शासन गर्न पद र पावर चाहिन्छ । पुनः सत्तामा आउन पैसा चाहिन्छ भन्ने हो । पैसाका लागि भ्रष्टाचार गर्नु सत्ता राजनीतिको सामान्य नियम नै हो ।

हिजोका युवा प्रचण्डलाई आज हेर्नुहोस् । हिजोका युवा शेरबहादुर, केपी शर्मा ओली र माधवकुमार नेपालहरूलाई मात्र होइन अहिलेका अधिकांश युवा नेतालाई आज हेर्नुहोस् । तस्बिर छर्लङ्गै छ ।

नेपाली कांग्रेसका युवा नेताहरू विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी महामन्त्री भएपछि केके सिक्दै र केके गर्दै छन् भन्ने कुरा भनिरहनु नपर्ला । त्यसो त उनी दुईले खर्लप्पै गर्नसक्ने पनि होइन । पारिवारिक, सामाजिक तथा राजनीतिका यस्ता कुसंस्कारहरूलाई भत्काउन त्यति सजिलो छैन, जति सजिलो पहिला लाग्ने गर्छ ।

त्यसैले, बेलाबेलामा राजनीतिका यस्ता कुसंस्कारहरूको पर्खाल भत्काउँछु भन्दै गर्जिने नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापाले अब पनि भावनात्मक समर्थता देखाउन सकेनन् भने उनी आफैं भत्किएर देउवाहरूकै साइजमा नआउलान् भन्न सकिन्न

संज्ञानात्मक मनोवैज्ञानिकहरूको एक समूहले निकै अनौठो एउटा प्रयोग गरे । प्रयोगका दौरान उनीहरूले पाँचवटा बाँदरलाई ठुलो पिंजडाभित्र राखे र पिंजडाको बिचमा एउटा सिँढी ठडाएर माथि केराको घरी झुन्ड्याइदिए ।

मनोवैज्ञानिकहरूले अनुमान गरेनुसार नै एउटा बाँदरको नजर केरामा पर्‍यो । अनि, ऊ बुरूक्क उफ्रिँदै केरा टिप्न सिँढी चढ्न थाल्यो । त्यसैबेला सो बाँदरलाई माथिबाट जोडले चिसो पानीको फोहोराले हानियो । शरीरमा चिसो पानी जोडले बज्रिएपछि बाँदर अत्तालिँदै तल झर्‍यो।

यो प्रयोग निरन्तर अगाडि बढ्यो । मनोवैज्ञानिकहरूले केरा टिप्न गएको सो बाँदरले गरेको गल्तीको सजाय अरू बाँदरहरूलाई पनि चिसो पानीको फोहोराले हानेर दिए । चिसो पानीले निर्थुक्क रूझेका बाँदरहरू थर्थरी काम्दै कुनामा कुक्रुक्क परेर बसे ।

सिँढीमाथि केराको घरी छ । निकै भोक लागेको छ । बाँदरहरू कतिबेरसम्म थुक निल्दै बस्न सक्थे र ? केही समयपछि अर्को बाँदरले यताउति हेर्‍यो र केरा लिन सिँढीतिर दौडियो । उसलाई पनि माथिबाट चिसो पानीको फोहोराले हानियो ।

शरीरमा चिसो पानी जोडले बज्रिएपछि त्यो बाँदर पनि अत्तालिँदै तल झर्‍यो । केरा टिप्न गएको बाँदरको यस गल्तीको सजाय पहिलाझैं अरू बाँदरहरूलाई पनि चिसो पानीको फोहोराले हानेर दिइयो । फेरि पनि बाँदरहरू थर्थर काम्दै कुनामा कुक्रुक्क परेर बसे ।

केही समयपछि तेस्रो बाँदर केरा लिन सिँढी के चढ्न थालेको थियो, पिंजडाभित्र आश्चर्यचतिक घटना घट्यो, बाँकी बाँदरहरू आत्तिदै (यो माथि चढ्यो भने फेरि चिसो पानीमा रुझ्नुपर्छ भन्ने डरले) दौडिए र सिँढी चढ्न थालेको बाँदरको हातखुट्टा समाएर तलतिर पछारे ।

प्रयोगले नयाँ मोड लियो, मनोवैज्ञानिकहरूले पिंजडाभित्र भएका बाँदरहरूमध्ये एकलाई बाहिर निकाले र एक नयाँ बाँदरलाई भित्र हुले । नयाँ बाँदरलाई भित्रको नियम थाहा थिएन । अनि ऊ केरा टिप्न उफ्रिँदै सिँढी चढ्न के लागेको थियो, अन्य बाँदरहरू एकैसाथ ऊमाथि झम्टिए र उसलाई भुइँमा थेचारे ।

नयाँ बाँदर आश्चर्यचकित थियो । उसलाई केही सम्झना आइरहेको थिएन । माथि केराको सिंगै घरी छ तर यिनीहरूले न त आफूले खाएका छन्, न त उसलाई खान दिएका छन् । पछि उसलाई लाग्यो, त्यो केरा केवल देखाउनका लागि हो, खानका लागि होइन । अनि त्यो बाँदर पनि अन्य बाँदरसँगै केरा हेरेर बस्न थाल्यो ।

यसपछि मनोवैज्ञानिकहरूले एक अर्को बाँदरलाई बाहिर निकाले र एक अर्को नयाँ बाँदरलाई पिंजडाभित्र राखे । सो नयाँ बाँदर पनि केरा टिप्न के दौडिएको थियो, बाँकी बाँदरहरूले उसको रामधुलाई गरे । अचम्मको कुरा के भने यस धुलाइमा यसअघि भित्र गएको नयाँ बाँदर पनि सामेल थियो, जबकि उसको शरीरमा एक थोपा पनि चिसो पानी परेको थिएन ।

प्रयोगको अन्त्यमा, सबै पुराना बाँदर पालैपालो बाहिर निकालियो र अब पिंजडाभित्र पाँचवटा नयाँ बाँदर थिए, जसको जिउमाथि एक थोपा पनि चिसो पानी परेको थिएन । तर, ज्यादै अचम्मलाग्दो कुरा के भने ती नयाँ बाँदरको आचार व्यवहार ठिक पुराना बाँदरको जस्तै थियो । एक अर्काले कसैलाई पनि केरा टिप्न दिँदैन थिए ।

कुनै बाँदर झुक्किएर केरा लिन गयो भने सबै मिलेर भकुर्थे । बाँदरहरूको मनमा यस्तो विश्वास पूर्वाग्रह (कग्निटिभ बायस) गढेको थियो कि केरा टिप्नु भनेको खतरा निम्त्याउनु हो । डरडरले उनीहरू डरको उपदेशक बनेका थिए । नयाँले त्यही सिकिरहेका थिए ।

हरेक मानिसको मनमा पनि यसरी नै विश्वासको सफ्टवेयर निर्माण हुन्छ, जसलाई विश्वास प्रणाली भनिन्छ । यस विश्वास प्रणाली निजको सोच विचार, शिक्षादीक्षा, व्यवहार तथा वातावरणले निर्माण गर्छ ।

मनोविज्ञान भन्छ, यस विश्वास प्रणालीले नै करिबकरिब मानिसको जीवन निर्धारण गर्छ ।  मानिसको हरेक निर्णय प्रक्रियाहरूमा विश्वास प्रणालीको ठुलो हात रहन्छ ।

विश्वास प्रणालीका कारण नै मानिसहरूले प्रायजसो गलत निर्णय गर्छन्, यस्ता निर्णयहरू तर्क, तथ्य तथा प्रमाणमा भन्दा पनि विश्वास र परम्परामा आधारित हुन्छन् । यसलाई संज्ञानात्मक मनोविज्ञानमा विश्वास पूर्वाग्रह भनिन्छ ।

यो विश्वास पूर्वाग्रह हाम्रो पारिवारिक, समाजिक तथा राजनीतिक व्यवस्थामा नियम भएर बसेको छ र यसरी नै परिवार तथा समाज बनिरहेको हुन्छ । संघ संगठन, राजनीतिक पार्टी तथा नेतृत्व पनि यही विश्वास पूर्वाग्रहबाट नै सञ्चालित हुन्छन् । त्यसैले, त सत्ताबाहिर हुँदा यो गर्छु, त्यो गर्छु भनेर जति फुटानी गरे पनि सत्तामा पुगेपछि उही पिंजडाभित्रको बाँदरको चाल ।