• जेष्ठ २७ २०८२, सोमबार

स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुलाई शून्यमा झारिने

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निणर्य गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको विशेष उपस्थितिमा शुक्रवार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निणर्य गरेको हो ।

पदभार ग्रहण गरेदेखि नै मन्त्री मोदीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री मोदीको प्रतिबद्धता र त्यसपछिको विभिन्न निणर्यको निरन्तरतामा मन्त्रालयले यस्तो निणर्य गरेको हो ।

निणर्यसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी खटाउनेछन् । मन्त्री मोदी आउनुअघि झन्डै साढे ३ सय स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए ।

मन्त्री मोदीले यो सङ्ख्या १ सय ४२ मा झारेका थिए । बैठकको निणर्यमा भनिएको छ, “स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानून बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने ।”

यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा ज्येष्ठताका आधारमा मात्रै पठाउने निणर्य पनि गरेको छ ।

बैठकले स्थानीय तहहरू वेबसाइट, सफ्टवेयर लगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलताप्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निणर्य पनि गरेको छ । बैठकमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका कामहरू गरिरहेको बताए ।

त्यस्तै मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमानदारितापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधारमार्फत् सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेको समेत औँल्याए ।

बैठकमा मन्त्रालयका सहसचिवहरू, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरूले आआफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतिसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।