काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो।
बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।