काठमाडौं । जनमत पार्टीको कारबाहीमा परेका शिवचन्द्र कुशवाहाले आफू सो पार्टीमा नरहेको प्रतिक्रिया दिएका छन् । पार्टीले कारबाही गरेको घोषणापछि आफूले कहिल्यै जनमत पार्टीको सदस्यता नलिएको दाबी गरे । गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा-२ मा जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहाले आफू सो पार्टीमा प्रवेश नगरेको बताएका हुन् । उनले भने, ‘म जनमत पार्टीमा कहिल्यै गएको छैन, मैले त्यो पार्टीको सदस्यता लिएको छु भने सार्वजनिक गरियोस्, म त्यो पार्टीबाट चुनाव लडेको मात्र हुँ ।’
पार्टीमै नरहेको व्यक्तिलाई कारबाही गर्नु आफैमा हास्यास्पद रहेको बताउँदै उनले वैशाख ४ गते भएको उपचुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूसँग गरेको कुनै पनि बाचा पूरा नगरेको आरोप लगाए । उनले भने, ‘उहाँ (सीके राउत)ले पार्टीबाट चुनावका लागि टिकट दिँदा चुनाव जिताउनका लागि विभिन्न बाचा गर्नुभएको थियो तर त्यसमध्ये कुनै पनि पूरा गर्नुभएन । त्यही कारणले म चुनाव हारेको हुँ ।’
बारा-२ आफ्नो क्षेत्र रहेको भन्दै कुशवाहाले सो क्षेत्रमा जनमत पार्टीको कुनै जनाधार नै नरहे पनि सीके राउतले उपनिर्वाचनका क्रममा चुनाव प्रचारका क्रममा उम्मेदवारको भन्दा पनि आफ्नो पार्टीको ब्राण्डिङ गर्न मात्र पूरा समय खर्च गरेको आरोप लगाए । ‘उहाँले चुनाव प्रचारमा जाँदा कहीँ पनि मेरो नाम लिनु भएन, आफ्नो पार्टीको नाममात्र लिनु हुन्थ्यो कि हर्न छापको नाम लिनुहुन्थ्यो,’ कुशवाहाले भने ।
त्यो क्षेत्रको बारेमा आफूसँग अनुभव रहेको तर त्यो अनुभव अनुसार प्लान बनाउँदा सीके राउतले नमानेको र आफ्नै तरिकाले चुनाव प्रचार गरेको अरोप लगाउँदै कुशवाहाले भने, ‘त्यो क्षेत्रमा उपेन्द्र यादवलाई आवश्यकताभन्दा बढी चिढ्याउने काम सीके राउतले गर्नुभयो, हजारौं कार्यकर्ता बाहिरबाट ल्याएर बारामा भर्नुभयो, मसँग न कुनै सल्लाह छ, न छलफल छ, आफ्नै ब्राण्डिङ गर्नमा उहाँ व्यस्त हुनुहुन्थ्यो ।’