काठमाडौँ । करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । सो प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम र ठेगाना खुलेको छ ।
जसअनुसार दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।
विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी गरेको छ भने बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ ।