काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सेनाको संख्या कटौतीको विषयमा आपत्ति जनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको भूमिकामाथि बेमौसमी बहस नगर्न चेतावनी दिएका छन् । कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गर्न-गराउन एवं मनोबल गिराउने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार गर्दैन । नेपाली सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।
सेनाको विषयमा निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको हो । ‘योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू शृङ्खलाबद्व रूपमा उठ्नु रहस्यमय, अनुचित र दुर्भाग्यपूणर् छ,’ विज्ञप्तिमा भनिएको छ । राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको भन्दै राप्रपाले बहसका निम्ति आफूहरू तयार रहेको बताएको छ ।
‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिवद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन । नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको छ । तसर्थ सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गर्न जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।