• मंसिर १४ २०८१, शुक्रबार

विकास बैंकहरुले अब जलवायु परिवर्तनमा असर नगर्ने उद्योगमा लगानी गर्ने

श्रावण ३ २०८०, बुधबार

काठमाडौं : विकास बैंकहरूले अब दिगो विकासमा केन्द्रित भएर लगानी गर्ने भएका छन् । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका हुन् । एसोसिएसनका अनुसार कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायीले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको बुधबार बसेको कार्य समिति बैठकले दिगो विकासका लागि विभिन्न ९ शीर्षकमा लगानी गर्ने निणर्य गरेको हो । जसअन्तर्गत कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यम लगायतमा विकास बैंकको कारोबार केन्द्रित हुने भएको छ ।

एसोसिएसनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउन खोजेका हौं । हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ ।

‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्धति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढी व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शून्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर विकास गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सदस्य बैंकहरूले अब बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपरलाई विकास गर्नसक्ने निणर्य पनि एसोसिएसनले गरेको छ । यसअनुसार अब सबै विकास बैंकका सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एसोसिएसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको एसोशिएशनले जानकारी दिएको छ ।