• मंसिर १४ २०८१, शुक्रबार

नेपालमा भारतीय लगानीकर्तालाई लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान

श्रावण ३ २०८०, बुधबार

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा भारतीय लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । नेपालको लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकाले निर्धक्कसँग लगानी गर्न अर्थमन्त्री महतले आह्वान गरेका हुन् ।

भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

भर्खर मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए ।

नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उल्लेख गरे ।

नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको, प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गरेका छन् ।