• जेष्ठ २७ २०८२, सोमबार

अदालतले अबरोध नगर्नु भने पनि सिसडोलबासीले मंगलबार पनि फोहोर फाल्ने गाडी रोके

श्रावण २ २०८०, मंगलवार

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुने ल्याण्डफिल साइटका स्थानीयले आज (मंगलबार) पनि अवरोध जारी राखेका छन् । स्थानीयको अवरोधका कारण सोमबारदेखि सिसडोल र बञ्चरेडाँडामा फोहोर विसर्जन हुन सकेको छैन।

काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर नुवाकोट र धादिङको सीमानामा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ।

नुवाकोटको ककनी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न आउने गाडीबाट प्रतिगाडी १ हजार ५०० रुपैयाँसम्म उठाउने निर्णय गरेपछि त्यसको विरोध भएको थियो।

उक्त निर्णय खारेजीसहित फोहोर व्यवस्थापनमा अवरोध गर्न नमिल्ने दाबीसहित आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने निर्णय तत्काल रोक्न आदेश जारी गर्‍यो।

फोहोरमैला व्यवस्थापन संघले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको हो। संघका तर्फबाट युवाचन्द्र घिमिरेले दायर गरेको रिटमा सर्वोच्चले फोहोर विसर्जन गर्न रोक्नु गैरकानुनी कार्य भएको भन्दै तत्काल अवरोध हटाउन ककनी गाउँपालिका सहितका विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको थियो। तर स्थानीयले भने फोहोर फाल्ने गाडीलाई बाटो मै अबरोध गरेका छन् ।