• आश्विन १४ २०८१, सोमबार

काठमाडौं बस्ने मगर समुदायले भव्यतापूर्वक मनाए साउने सक्राती (तस्वीरसहित)

श्रावण १ २०८०, सोमबार

काठमाडौं । अथार मगरात मगर प्रतिष्ठानको मुख्य आयोजानमा आयोजित उधेली पर्व (साउने संङ्कराई) २०८० तथा विभिन्न सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको हो ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउन विभिन्न १८ वटा सह-आयोजक संस्थाहरुको भूमिका रह्यो । अथार मगरात कलाकार संघ, तकसेरा समाज, लुगुम्याल समाज, प्रकृति पूजक मगर समाज काठमाडौँ, भूमे समाज काठमाडौँ, कोराल समाज काठमाडौँ, मगर संजाल क्लब, श्रृजनशील महिला समाज, लुगुम्याल चेलिबेटी आमा समूह, उपत्यका पुन मगर समाज, थवाङ्गी समाज काठमाडौं, ने.म.संघ ओखलढुंगा-काठमाडौँ सम्पर्क समिति, ने.म.संघ पाल्पा-काठमाडौँ सम्पर्क समिति, ने.म संघ म्याग्दी-काठमाडौँ सम्पर्क समिति, ने.म.संघ रोल्पा-काठमाडौँ सम्पर्क समिति, ने.म संघ बाग्लुङ-काठमाडौँ सम्पर्क समिति, ने.म संघ अर्घाखाँची-काठमाडौँ सम्पर्क समितिले सह-आयोजकको भूमिका निर्वाह गरे भने गोलखबर मिडियाले मिडिया पार्टनरको भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रमको उट्घाटन प्रमुख अतिथि नन्दकिशोर पुनमगरद्वारा थला पूजा तथा बाजा फूकाई औपचारिक उट्घाटन गरियो । साथै प्रमुख अतिथि र विभिन्न विशिष्ट अतिथिले रोटी अचार प्रतियोगिताको अवलोकन गरे । कार्यक्रममा बोल्दै निवर्तमान उपराष्ट्रपति पुनले वर्तमान समयमा हामीले जे जस्तो धर्म मान्दै आएपनि हाम्रो पूर्खा प्रकृति पूजक नै रहेको बताए ।

पछिल्लो समय बढ्दै गरेको आधुनिकिरणले नै हाम्रो धर्म परिमार्जनहुँदै गएको पुनले दाबी गरे । पुन थर मगर थरभन्दा बाहिरको थर हो भन्ने पछिल्लो समयको विवादलाई संकेत गर्दै आफूले जनगणनामा पुनमगर नै लेखेको उदाहरण दिँदै पुनमगर मगर समुदायकै उप थर भएको दावी गरे ।

सोहि क्रममा बोल्दै आफ्नो मन्तव्य राख्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पु्नमगरले साउने सकरार्य मनाउनाले रोग व्यथा हट्दै जाने जनविश्वास रहेको बताए । उनले कार्यक्रममार्फत् मगर संघ यस्ता चाडपर्वलाई स्थापित गर्न भूमिका निर्वाह गर्ने बताए ।

उनले पुनको तथ्याङ्क सार्वजनिक योजना बनाई बनाएकाले तथ्याङ्क विभागप्रति मगर संघको विरोध रहेको दाबी गरे । कार्यक्रमका विशिष्ट अतिथि बमकुमारी बुढामगरले साउने सकराई पर्व सरकार-माओवादी बीच चलेको युद्धका कारण घोषणा गरिएको संकटकालदेखि नै काठमाडौंमा पनि मनाउँदै आएको कुरा जानकारी दिइन् ।

उनले साउने सकराईको विशेष ‘माहोर टिका’ लगाउने चलनलाई सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हेर्न चाहेको इच्छा व्यक्त गरिन् । ‘माहोर टिका’ विशेषगरी घरेलु समग्रीको प्रयोग गरी सात रंगको बनाइने साँस्कृतिक रंग हो, जसलाई यस पर्वमा विशेष रुपमा हेरिने गरिन्छ ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि तथा नेकपा एमालेका सांसद ईश्वरी घर्तीमगरले मगर समुदायले बालीको काम सकेपछि मनोरञ्नका लागि साउने सकराई मनाउने गरेको बताइन् । उनले कार्यक्रममा युवा पुस्तालाई संकेत गर्दै मगर समुदायबाट विभिन्न सम्माननीय पदमा पनि उभिन सफल भएकाले आगामी पुस्तामा पनि यस्तो सहभागिता हेर्न चाहेको बताइन् ।

कार्यक्रममा मगर कला संस्कृति झल्काउने पैँस्यारु, सारङ्ग्या, मारुनी, मयूर नाच आदि प्रस्तुत गरियो । साउने सकराईलाई भव्य र सभ्य बनाउन विशिष्ट अतिथिको भूमिका निभाउँदै पूर्व सभामुख ओनसरी घर्तिमगर, अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगर पनि सभामा उपस्थित थिए ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झबिन्द्रबहादुर पुनमगरले साउने सकराई विगत २०५८ सालदेखि व्यापक रुपमा मनाउँदै आएको जानकारी दिँदै आगामी दिनमा अझ सशक्त ढंगले मनाउने बताए । कार्यक्रममार्फत् सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई धन्यवादसहित मायाको चिनो प्रदान गरियो । कार्यक्रमको सञ्चालन भिमप्रकाश बाँठामगरले गरेका थिए भने स्वागत मन्तव्य किरणबाबु पुनले राखेका थिए ।
तस्वीर : रोमन बुढामगर ।