(पूणर्नारायण मानन्धर एक समाजसेवी हुन् । उनी काठमाडौंको टोखा नगरपालिका-९ को शिद्धेश्वर प्रगति टोलमा बस्दै आएका छन् । समाजमा आइपर्ने कामहरु रुचीकासाथ गर्न पाउँदा उनलाई आनन्द आउँछ । बाटोघाटो बनाउनु पर्दा, कोही विरामी परेको बेला सहयोग गर्न पाउँदा र कुनै प्राकृतिक विपत्ति जस्ता भवितव्यमा परेकालाई उद्दार गर्न पर्दा उनी अगाडि सर्दछन् । यहि कारणले उनी रेडक्रसमा आवद्ध छन् । ६० वसन्त पार गरेका मानन्धर अहिले पनि युवा अवस्थामा झैं तन्दुरुस्तै छन् । प्रेरणादायी व्यक्तित्वमध्येमा पर्ने उनै मानन्धरसित साहित्यिक पत्रकार रत्नप्रसाद अनामणि श्रेष्ठले मानन्धरका जीवनका विविध पाटा र पक्षको वरपर रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेप : सम्पादक ।)
(१) जीवन के हो जस्तो लाग्छ ?
घाम छाँया जस्तै लाग्छ । जन्मे पछि मर्नै पर्ने । अरु भनौं भने रङ्गमञ्च र कलाकार जस्तो, कथा सकियो कि चैट । मैले बुझेको यहि हो ।
(२) उसो भए सुख र दुःख चाहिँ के हो त ?
निस्वार्थ रुपमा गरेको कामले प्रतिफल दियो भने सुखको अनुभूति गर्छ । समाजमा सामाजिक कार्य गर्दा र गरिरहँदा भाँझो हाल्दा वा बाधा पुर्याउन खोज्दा साह्रै दुःख लाग्छ । तर सुख:दुखको पाटो विश्लेषण गर्दा यो आइरहन्छ र गइरहन्छ ।
(३) तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
म स्वयमसेवी हुँ । स्वयमसेवकले गर्नु पर्ने काम सकेजति र भ्याएसम्म गर्छु । रेडक्रस, वीर अस्पताल र रक्तसञ्चार केन्द्रमा सहयोग गर्छु । र पारिवारिक र घरायसी कार्यमा समय बिताउनु नै दिनचर्या जस्तो बनेको छ ।
(४) तपाईंलाई खाना र खाजामा कुन-कुन मन पर्छ ?
साधाररणतया दाल, भात, अचार, हरियो सागपात र शनिवार एक दिन माछा वा मासु खाने गरिन्छ । आफू म चाहिँ नुन कम भएको तरकारी खाने गर्छु । बाहिर पसलतिर त खाँदै खान्न ।
(५) तपाईंलाई पोषाक कस्तो मन पर्छ ?
साधारणतया आफ्नो जिउमा मिल्ने सुकिलो सर्ट र पाइन्ट र आफ्नो औकात अनुरुपको कपडा लगाउँछु ।
(६) तपाईंको बोली वचन कस्तो छ जस्तो लाग्छ ?
आफैले भन्नुपर्दा ठिकै मान्छु तर मेरो छरछिमेकी वा साथीभाई मसँँग प्रत्यक्ष वा परोक्षरुपमा संलग्न हुने मित्रहरुले मूल्याङ्कन गर्ने कुरा हो यो । हेर्नुस् मैले नै भन्नु पर्दा म अलि हक्की र देखेका भोगेका कुरा फ्याटै पस्किने खालको छु । तर अहिलेको अवस्थासम्म आइपुग्दा मेरो व्यवहारमा केहि सुधार गरेर जानुपर्ने महसुुस गरेको छु ।
(७) समाज सेवाले के दिन्छ ?
तपाईंलाई मैले फ्याट्टै यहि दिन्छ त भन्न सक्दिन तर पनि सामाजिक सेवा गर्नेलाई दुःख दिइन्छ । तर पनि सेवा कार्यले सुत्दा मिठो निद्रा लाग्छ ।
(८) जीवनमा सुख दुःखको पाटो के-हो ?
आमा बुवा हुदाँसम्म सुखकै अनुभूति गरें भन्नुपर्छ । युवा अवस्था सुरु भएपछि आफ्नै खुट्टामा अडिएर पठनपाठन घर व्यवहार हेर्न परेकोले केही कठिनाई झेलें । तापनि दुःख कष्ट झेल्दै एकनास पाइला चालिरहें । अब प्रौढ अवस्थामा दुःख नपाउन के-के गरिनु पर्छ जसको खोजीमा तल्लीन छु । यसमा पनि आफ्नो स्वास्थ्यप्रति चनाखो छु । विहान केहि बेर योगा गर्छु र दिनको ३ घण्टा हिंड्ने गर्छु ।
(९) धर्मप्रति आस्था राख्नुहुन्छ ?
मेरा आमा बुवा धर्ममा आस्था राख्नुहुन्थ्यो । म त्यसकै निरन्तरता र शेष हुँ । मन्दिरमा पुग्ने गरेको हुन्छु । सबै धर्मका ज्ञान गुणको कुरा सुन्छु । सद्गुणहरुलाई अंगाल्छु । सुत्नु अगाडी आफ्ना इस्ट देवताहरु सम्झेर सुत्छु ।
(१०) तपाईंको दैनिकी कसरी बित्छ नि ?
विहानको हिँडाइबाट फर्केर आएपछि पत्रपत्रिका पढ्छु । घरको काम छ भने सकेको र भ्याएको बेला गर्छु । खाना खाएपछि रेडक्रस र वीर अस्पतालमा स्वयमसेवामा लाग्छु । साँझ ६ बजे अगावै घर पुगिन्छ । घरपरिवारसँग भलाकुसारी हुन्छ । यत्तिकैमा मेरो दैनिकी सकिन्छ ।
(११) परिवार कतिजना हुनुुहुन्छ त ?
श्रीमती र २ छोरा छन् ? छोरी र बुहारीहरु पनि छन् । मेरो परिवारका सबैका सदस्यको आचरण र व्यवहार समाजले चाहेको जस्तै छ । छोरा बुहारीहरु सबै आआफ्ना नोकरीमा छन् । सन्तुष्टि नै छ मेरो सानो परिवारमा ।
(१२) अहिलेको समाज तपाईंलाई कस्तो लाग्छ ?
खै के भनौं ! ठिक्कै लाग्छ । हामी बसेको समाज त हामी नै निर्माण गर्ने हो नी । होइन र ? हामीले कस्तो समाज निर्माण गरेका छौं ? यसमै भर पर्छ । तरपनि यहि समाज भित्रपनि उज्यालो र अँध्यारो दुवै पाटो हुन्छ । यसमा पनि हामी सामाजिक प्राणी हो । त्यहि समाजले दिएको अनुभव ज्ञानगुण वरण गर्ने हो नी हैन र ? तर पनि यहि समाजभित्र केहि प्रतिशत व्यक्तिहरु आत्मकेन्द्रित, स्वार्थी र अरुलाई कष्ट दिएर आन्नद मान्ने प्रकृतिका पनि हुन्छन् तर यस्ता तत्वको अगाडी स्वच्छ र सभ्य समाज निर्माणको लागि तपाईं हामीले सकेको परिवर्तन गर्ने हो । नसकेमा त्यस्तालाई मतलव नराखी हिँड्नुपर्छ जस्तो लाग्छ ।
(१३) जीवनमा हाँसो र रुवाइको भोगाई छ त ?
परिवार र समाजको कुनै व्यक्तिको सफलताले रमाइलो दिन्छ तर धेरै हाँस्दिन । हाँस्दा मन खोलेर हाँस्छु । तर कसैको पीडामा मन चिमोटिन्छ मन रुन्छ तर आँसु झर्दैन । तर धेरै दुःख कष्ट झेलेर मेरो पालनपोषण गर्ने आमाको निधन हुँदा बढि नै रोएको छु ।
(१४) तपाईंको बलियो र कमजोर पक्ष के हो जस्तो लाग्छ ?
यो सकेसम्म नभन्नु भन्छन् । तर पनि यहि समाजले दिएको आत्मविश्वास र परिवारले दिएको स्नेहले गर्दा ममा जहाँ पनि चाँडै घुलमेल हुनसक्ने प्रवृत्ति छ । कम बोल्ने र धेरै सुन्ने बानी बलियो पक्ष हो भन्ने ठान्दछु भने अरुलाई चाँडै विश्वास गरिहाल्ने बानी र थिचोमिचोमा परेकाको पक्षमा छिटो बोल्ने कमजोर पक्ष जस्तो लाग्छ ।
(१५) जीवन कालमा गरेका राम्रा कामहरु कस्ता छन् ?
प्रारम्भिक यात्रा नै शिक्षण पेसाबाट भयो । सिकेका जानेका कुरा सिकाइयो । त्यसपछि स्वास्थ्य क्षेत्रमा २२ वर्ष संलग्न भएँ । अवकास पछि २०५८ सालतिर रेडक्रसकर्मी हुन पुगें र अहिले पनि यसैमा आवद्ध छु । वीर अस्पतालमा रहेको स्वमसेवी संस्था संजीवनी सेवामा फुर्सदको बेला स्वयमसेवा गर्ने गरेको छु । गोङ्गँबुस्थित सामुदायिक सेवा केन्द्रमा आजीवन सदस्य छु । स्थानीय रुपमा बाटो खानेपानी आदि कार्यमा हातेमालो गर्दै सक्रिय रुपमा कार्य गर्दै आएको छु ।
(१६) राजनीतिप्रति कत्तिको चासो राख्ने गर्नुभएको छ ?
०३८/३९ सालतिर पिपुल्स क्याम्पसमा नेवि संघमा रहेर काम गरें । २०४६ सालतिरको आन्दोलनको बहावमा पनि बगियो । गोङ्गबुँमा काँग्रेससको कमिटीमा सचिव भएर कार्य गरे । स्मरण रहोस उसबेला हालको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी उपसचिव हुनुहुन्थ्यो । २०६० सालमा रेडक्रस धापासी उपशाखाको निर्वाचनमा सभापतिमा निर्वाचित भएपश्चात रेडक्रसको आचार संहिता पालन गरेर राजनीतिबाट टाढा रहें । मैले भन्नुपर्दा राजनीति तत्कालिन रुपमा ठिक्कै लाग्थ्यो तर अहिले राजनीतिबाट वितृष्णा जागेको छ । किनकि यो राजनीतिमा तिकडम, चाकडी र पैसा आवश्यक छ । यी ३ वटै चिज मेरो स्वभावमा छैन तर पनि राजनीति नगरि नहुने पनि रैछ । किनकि हरेक पाइलामा राजनीति नै राजनीति छ । अब म राजनीतिमा फेरि प्रवेश गर्ने विचारमा छु । यसैको माध्यमबाट समाज सेवा गर्ने सोंचेको छु तर यसलाई पेसा चाहिँ बनाउँदिन ।
(१७) तपाईंलाई जीवनमा के गुमाएँ जस्तो लाग्छ ?
मैले के लिएर जन्मेको हुँ र गुमाउनलाई ? तर पनि यो अवधिसम्म मैले कमाएको शाख, साथी र इज्जतहरु गुम्ला भन्ने डर चाहिँ छ, त्यसैले यसमा सचेत छु र सचेत रहन्छु ।
(१८) यात्रा केहो जस्तो लाग्छ ?
‘बग्नु छ नारायणीको पानी नभेटेसम्म सागर सागरलाई भेट्न कहाँ छ र सजिलो
ठोकिनु पर्नेछ चट्टानसँग
खस्नु पर्ने छ पहाडदेखि
माथिदेखि चिर्नु पर्नेछ खोंचलाई
कुँद्नु पर्नेछ सम्म फाँटहरुमा
अब लाग्छ त्यति गाह्रो पनि छैन भेट्न सागरलाई ।
डा.उदेश पाण्डेको कविताका प्रत्येक शब्दवाणीमा सहमतहुँदै यात्री बनिरहनेछु ।
(१९) तपाईंको जीवन सफल कि असफल ?
निम्न वर्गीय परिवारमा जन्मेकोले सफल भन्ने परिभाषा नै बुझ्दिन म । धन कमाउने, कार चढ्ने र जग्गा जमिन जोड्नु नै सफलता बुझ्ने हो भने म यसमा असफल छु । साँचो कुरा गरुँ, मलाई विहान बेलुकी छाक टार्न र खान पुग्छ भने यहि सफलता ठान्छु ।
(२०) अन्तमा केहि भन्नु बाँकी छ कि ?
आमाको गर्भबाट जन्मेर जीवन सार्थक बनाउन यो समाजमा केहि गरेर जान सकुँ यहि मेरो इच्छा छ । अर्को शब्दमा भन्ने हो भने तपाईं जस्तो बहुप्रतिभाशाली, सहयोगी, चिन्तक र शुभेच्छुक साथी गुमाउन नपरोस्, कामना छ । निचोडमा भन्दा जस्तोसुकै बाधा अड्चन आएपनि स्वस्थ्य रहि सामाजिक काम र स्वयमसेवी भएर समाज सेवा गरिरहन पाउँ ।