• मंसिर ११ २०८१, मंगलवार

रुसले वाग्नरको नयाँ कमाण्डर तोक्यो, कता जाला नेटोसितको युद्ध ?

श्रावण १ २०८०, सोमबार

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले वाग्नर समूहलाई फेरि रुस नै फर्कन र युक्रेनविरुद्धको युद्धमा पहिलेजस्तै लागिपर्न प्रस्ताव गरेको बताएका छन् ।

वाग्नरका लडाकुलाई फेरि रुसले स्वागत गर्ने तर उनीहरूले रुसी सेनाको नेतृत्वमा युद्ध लड्नुपर्ने पुटिनको भनाइ छ । यसअघि वाग्नरका प्रमुख यबगेनी प्रिगोजिनले रुसी सेनाको कमाण्डमा युद्ध लड्न अस्वीकार गरेका थिए । उनले रुसी सेनाभन्दा वाग्नरका लडाकु शक्तिशाली र क्षमतावान् भएको बताएका थिए ।

गत महिना वाग्नरले रुसविरुद्ध विद्रोह गरेपछि त्यहाँ गृहयुद्धको अवस्था निम्तिएको थियो तर, वाग्नरका लडाकु विद्रोह त्याग्न र बेलारुस जान सहमत भएका थिए । वाग्नरका लडाकुलाई त्यही बेला पुटिनले सरकारी सेना बन्न पनि आह्वान गरेका थिए ।

रुसी दैनिक पत्रिका कोमरसेन्टसँगको अन्तर्वार्तामा पुटिनले वाग्नरको विद्रोहको पाँच दिनपछि आफूले त्यस समूहका प्रमुख प्रिगोजिन र वाग्नरका लडाकुसँग भेटेको पनि बताएका छन् । पुटिनका अनुसार वाग्नरका लडाकुहरूले उनले नियुक्त गरेको कमाण्डरको आदेश पालना गर्नुपर्छ र यो समूह रुसी सेनाको नेतृत्वमा चल्नेछ ।

विद्रोह गर्ने वाग्नरलाई फेरि रुस नै फर्काउन प्रस्ताव गरेपछि युक्रेनविरुद्धको युद्ध रुसले भाडाका सिपाहीद्वारा लडेको बताइएको छ । यसके मतलब रुसी नियमित सेना युद्धको मैदान आइसकेको छैन । रुसको नियमित सेना १५ लाखको संख्यामा रहेको बताइन्छ ।

यता रोयटर्सका अनुसार वाग्नरका लडाकुलाई नेतृत्व गर्ने व्यक्ति पनि पुटिनले चयन गरिसकेका छन् । पुटिनले ‘सेडोई’ भनेर चिनिने पूर्वरुसी सेना तथा वाग्नरका वरिष्ठ सैन्य कमाण्डर आन्द्री त्रोसेभलाई वाग्नरको प्रमुख बनाएका छन् । रुसी भाषामा सेडोईको अर्थ खैरो कपाल भन्ने हुन्छ । सन् २०२१ मा युरोपेली युनियनको दस्तावेजमा सेडोईलाई वाग्नरको कार्यकारी निर्देशक भनिएको छ । उनले सिरियाली युद्धमा वाग्नरलाई कमाण्ड गरेको पनि ईयू बताउँछ । उनले रुसी सैन्य खुफिया विशेष बलमा समेत काम गरेको बताइएको छ ।

सन् १९५३ मा तत्कालीन सोभियत संघको लेनिनग्राडमा उनको जन्म भएको थियो । हाल उनको जन्मस्थललाई सेन्ट पिटर्सबर्ग भनिन्छ । उनले सोभियत संघको तर्फबाट अफगानिस्तानमा एक दशक लामो युद्ध लडेका थिए । उनले सोभियत संघको पतनपछि रुसी सेनाको स्पेसल र्‍यापिड रेस्पोन्स युनिटमा आबद्ध भएर नर्थ काउकाससमा काम गरे ।

उनले अफगानिस्तानको युद्ध लडेपछि ‘द अर्डर अफ द रेड स्टार’ तक्मा पाए भने वाग्नरलाई सिरियाली युद्धमा नेतृत्व गरेकोमा सन् २०१६ मा रुसकै सर्वोच्च सैन्य सम्मान ‘हिरो अफ रसिया’ समेत पाए ।

यता भर्खरै अमेरिकासहितका नेटो देशको बैठक सकिएको छ । सो बैठकले नेटोलाई जोगाउन रक्षात्मक योजना बनाएको बताइन्छ । बैठकले रुसविरुद्धको लडाइँलाई चर्काउने वा तर्काउने भन्ने बारेमा खासै ठोस निणर्य गर्न सकेन । युरोपियन देशहरुमा रुससितको लडाइँ अब रोक्नुपर्ने दबाब परेका कारण ठोस निणर्य गर्न नसकिएको हो ।

जर्मन र फ्रान्स जस्ता देशहरुले अब पनि रुससित लडिरहँदा आफ्नो अर्थतन्त्र समाप्त हुने देखेपछि यो लडाइँ छिटो टुङ्ग्याउनु पर्नेमा उनीहरु लागिरहेको छन् । त्यस्तै सो बैठकले युक्रेनलाई नेटोमा आवद्ध नगर्ने निणर्य गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने सो बैठकमा आमन्त्रित अतिथिकोरुपमा मन्तव्य राख्दै आफूलाई छिटो नेटोमा आवद्ध गर्न आग्रह गरे । तर पनि अमेरिकी राष्ट्रपति जोय बाइडेनले नै सो कुराको खण्डन गरे ।

जेलेन्स्कीले भने आफूलाई छिटो नेटोमा आवद्ध गराएका रुससित नेटोको सेना नै लड्ने र रुससितको युद्ध जितिनेमा आशावादी थिए । तर उनको यो आशा निरासामा परिणत भएको छ । उता युक्रेनी सेनाले रुसविरुद्ध लड्ने भनेको निर्णायक युद्ध पनि  निर्णायक बन्न सकेको छैन । केही समयअघि अमेरिका र इयुले दिएका धेरै हतियार र युद्ध ट्यांकहरु रुसी सेनाले ध्वस्त बनाइदिएको छ ।

भर्खर मात्र अमेरिकाले युक्रेनलाई घातक र प्रतिबन्धित क्लस्टर बम उपलब्ध गराएको छ तर सो मानव विनासकारी बम रुसविरुद्ध प्रहार गर्दा त्यसको प्रतिकार रुसले कुन स्तरमा गर्छ र त्यसको भावी असर के होला भन्नेमा अहिले अनुमान मात्रै गर्न सकिन्छ । यसैबीच पश्चिमा देशहरुले युक्रेनलाई हतियार दिन नछोडेका परमाणु बम हानेर ध्वस्त पारिदिने चेतावनी यसअघि नै पुटिनले दिइसकेका छन् ।

यस्तो अवस्थामा रुसी सेनाको पुनरताजकीकरण गर्दै लगिएको, वाग्नरमा नयाँ कमाण्डर नियुक्त भएको र युक्रेनले रुसविरुद्धको कारवाही थप अघि बढाएमा युक्रेन युद्धले कुन रुप लेला ? यहिले नै यसै भन्न सकिने अवस्था छैन ।