• जेष्ठ २६ २०८२, आईतवार

विदेशी पैसा खर्च गरेर फाइभस्टार होटेलमा गरिने कार्यक्रममा जाँदिन : मन्त्री मोदी

असार २९ २०८०, शुक्रबार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा आफू उपस्थित नहुने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरिमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले कार्यसम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तरक्रियामा भने आफू उपस्थित हुने बताए । उनले भने, ‘सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तरक्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तकरक्रियामा म आउँदिन ।’

खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाई थियो ।

वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, ‘वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।’ उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् ।