• माघ १८ २०८१, शुक्रबार

भानु-भर्त्सना !

असार २९ २०८०, शुक्रबार

अघि अघि लाग्यो
पृथ्वीनारायणको तरवार
टाउको काट्दै स्वतन्त्रताको
नाक काट्दै स्वाभिमानको
कान काट्दै पहिचानको !
तिमी पछि पछि लाग्यौ
रामायणको तरबार बोकेर
राज भाषाको तोप बोकेर
जहाँ-जहाँ पुग्यो
पृथ्वीनारायणको तरबार
त्यहाँ-त्यहाँ पुग्यो
राज भाषाको बीऊ
रामायणको बोरामा पसेर !
तरबारले ढालेर पनि
नढलेका शिरहरू
तरबारले काट्दापनि
नकाटिएका नाक-कानहरू
नबसेको भाषाको जग
नबसेको संस्कृतिको गजुर
ती सबै आदिम किल्लाहरू ढाल्दै
गाड्दै गयौ नयाँ किल्ला !
जति अपनत्व पूर्वक गर्यौ तिमीले
राज-कविको दायित्व पूरा
त्यति नै अपनत्वपूर्वक
आदि-कविको पगरी पायौ
राज-खानदानका आदि-कवि तिमी !
बोल्न खोज्दै गरेका नारी-ओठमा
वधु-शिक्षाको कोर्रा लायौ
चुप लाग्ने आदेश दियौ
राजासँग नमिल्ने जात
राजासँग नमिल्ने नाक
राजासँग नमिल्ने रङ्गलाई
अवैध घोषणा गर्यौ
त्यत्तिकै कहाँ आदि-कवि हुन्थ्यौ !?
आज
वणर्शङ्कर समयको चौबाटोमा उभिएर
संझिरहेछु म
तिमीले काटेका नाकहरू
तिमीले ढालेका
तिम्रा राजाभन्दा पुराना
यो माटोका छन्दहरू
अनि हेरिरहेछु
तिम्रो शालिकमा माला लगाउन
तँछाड मछाड ‘प्रगतिशील’हरू
तिम्रो महिमामण्डनमा तल्लिन
स्वघोषित गोर्की र लुसुनहरू !
कविहरूको यौटा समूह
किंकर्तव्यविमुढ बनेर
हुर्रे ! खाऊँ कि निगार खाऊँ गरिरहेछन्
त्यो पनि हेरिरहेछु म !
२०७५/०/३२९
ढल्को