• जेष्ठ २६ २०८२, आईतवार

सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिनेछ : सञ्चार मन्त्री रेखा शर्मा

असार २८ २०८०, बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चालिने बताएकी छन् । आगामी आर्थिक वर्षमा कानुन बनाएर सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी हुन् ।

‘डिजिटल साक्षरता प्रवर्दन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको छ,’ मन्त्री शर्माले भनिन्, ‘आगामी आर्थिक वर्षमा कानुनको तर्जुमा गरी सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने व्यहोरा अवगत गराउन चाहन्छु ।’ तर, त्यसरी कानुन बनाउँदा प्रेस स्वतन्त्रता भने सुनिश्चित गरिने उनको भनाइ छ ।

‘सधै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गरिनेछ । आमसञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि विद्यमान ऐन, कानुनमा समसामयिक संशोधन तथा नयाँ तर्जुमा गर्नुपर्ने देखिएको छ,’ मन्त्री शर्माले भनिन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको जानकारी दिइन् ।

विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरीने मन्त्री शर्माको भनाइ छ । साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनको भनाइ छ ।
‘विद्युतीय तथ्यांकहरूको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने छ,’ मन्त्री शर्माले भनिन्, ‘साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।’
मन्त्रालयसँग सम्बन्धित कानुनहरूको तर्जुमा, संशोधन एवम् परिमार्जन गर्न मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको उनको भनाइ छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम न्यूनीकरण गर्नु चुनौतिको रूपमा रहेको उनले बताइन् ।