• जेष्ठ २६ २०८२, आईतवार

कांग्रेसभित्रै देउवाको विकल्पको खोजी, विशेष महाधिवेशन आह्वानको अड्डी कस्दै शेखर-गगन समूह

असार २७ २०८०, बुधबार

काठमाडौं । देशको सबैभन्दा ठूलो अर्थात् सत्ता साझेदार दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी महिना बस्ने भएको छ । विगत एक वर्षयता बस्न नसकेको उक्त समितिको बैठक साउनमा बस्ने भएको हो ।

बैठकका लागि तयारी पूरा भईसकेको कांग्रेसले जनाएको छ । गत वर्ष २०८९ भदौमा बसेको पार्टी केन्द्रीय समितिको बैठक त्यसयता बस्न सकेको छैन ।

झन्डै एक वर्षयता बैठक बस्न नसकेपछि पार्टीभित्रै सभापति शेरबहादुर देउवाको चौतर्फी आलोचना हुँदै आएको थियो । नेतृत्वको अकर्मण्यताकै कारण बैठक बस्न नसकेको नेता शेखर कोइराला–महामन्त्री गगनकुमार थापा समूहको आरोप छ ।

बारम्बार केन्द्रीय समितिको बैठक आह्वान गर्न आग्रह गरे पनि देउवाले बेवास्ता गरेको उक्त समूहले आरोप लगाउँदै आएको छ । पार्टी भित्रभित्रै थलालिङ्ग भएको, भातृ संघ, संगठनहरू पुनर्गठन हुन नसकेको, १३औँ महाधिवेशन सम्पन्न भएयता अझैँ पदाधिकारी टुंग्याउन नसकेको भन्दै सो समूहले साउन २ मा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा बहत् छलफल गर्ने बताएको छ ।

कांग्रेस विधानको परिच्छेद ७ को दफा २१ को उपदफा १२ मा केन्द्रीय कार्यसमितको बैठक प्रत्येक दुई महिनाको अन्तरालमा कम्तीमा एकपटक बस्ने भनिएको छ । तर, उसले झन्डै एक वर्षयता बैठक नै बसाउन सकेको छैन ।

नेतृत्व स्वयंले पार्टीको विधान मिचेको भन्दै केही नेताहरू सभापतिको खुलेर विरोधमा उत्रिएका थिए । पार्टीभित्रै विरोध हुन थालेपछि देउवालगायत पार्टीका अन्य पदाधिकारीको छलफल पश्चात् केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।

यसअघि गत वर्षको पुषमा बोलाइएको बैठक स्थगित भएको थियो । त्यसबेला एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन फेरबदल भएर कांग्रेस–माओवादीको गठबन्धन बनाउने तयारी हुँदै थियो ।

सोही कारण देखाउँदै कांग्रेसले आह्वान गरेको केन्द्रीय समितिको बैठक स्थगित गरेको थियो । त्यसपछि कांग्रेस–माओवादी सत्ता गठबन्धन बनेपछि पार्टीमा बैठक आह्वानका लागि पटकपटक छलफल भए पनि बस्न सकेन ।

त्यसपछि नयाँ वर्षको शुरूवात अर्थात् बैशाखमा बैठक बस्ने तयारी पूरा भएको थियो । त्यति नै बेला पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे ।

उनी पक्राउ परेपछि बैठक नै स्थगित गर्नुपरेको महामन्त्री विश्वप्रकाश शर्माले बताए । खाँण बैशाख २७ गते पक्राउ परेका थिए । पक्राउ परेका खाँणलाई कारबाहीको माग बैठकमा उठ्ने भयले देउवाले बैठक नै नबोलाएको शेखर–गगन समूहका एक नेता बताउँछन् ।

कांग्रेस शीर्ष तहको नेतृत्वबाटै केन्द्रीय समितिको बैठकका लागि बारबार ताकेता गर्दा पनि सभापति देउवा नै उदासिन भएको एक नेता बताउँछन् । पार्टीको तल्लोदेखि माथिल्लो तहसम्मको सांगठानिक संरचना पुनर्गठन गर्नुपर्ने र पार्टी नै शुद्धिकरण गर्नुपर्ने भएको ती नेताले बताए ।

उनका अनुसार पार्टीको पुरानो नेतृत्वबाट यो सम्भव छैन । यसका लागि हामी विकल्पको खोजीमा छौँ । हाम्रो विकल्प भनेकै नेतृत्वको विकल्प हो । हामीसँग विकल्प यतिबेला एउटा मात्रै छ । त्यो भनेको विशेष महानिवेशन हो । त्यसमा हाम्रो बलियो अडान हुनेछ ।

यद्यपि ती नेताले भनेअनुसार कांग्रेस विशेष महाधिवेश आह्वानका लागि बाटो सहज छैन । किनकि यसका लागि पनि आवश्यक बहुमत पुग्नुपर्ने हुन्छ । यदि बहुमत पुग्न सकेन भने देउवा वर्तमान अवस्थाभन्दा भोलि झनै सुपरियर हुनेछन् र विशेष महाधिवेशन आह्वान गर्ने सबै नेतालाई कारबाही गर्न सक्छन् ।