काठमाडौं । कडा सुरक्षाबीच लिथुआनियाको राजधानी भिल्नियसमा मंगलबारदेखि उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन बुधबार (भोलि) सकिनेछ । रुसले परमाणु हतियार तैनाथ गरेको बेलारुस र लिथुआनियाको सीमा क्षेत्र जोडिएका कारण रुसी खतरा मध्यनजर गर्दै लिथुआनियामा अनगिन्ती एन्टी-मिसाइल प्रणाली र सेनाहरू तैनाथ छन् ।
नेटोको सम्मेलनले रुसले आक्रमण गरिरहेको युक्रेनलाई समर्थन जनाउनेछ, युक्रेनलाई थप हतियार दिने विषयमा पनि सम्मेलनमा महत्त्वपूणर् निणर्य हुनेछन् । तर, युक्रेनलाई नेटोको सदस्य बनाउने विषयमा कुनै छलफल हुनेछैन । यसअघि नै नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले युक्रेनलाई नेटोमा आवद्ध गराउने विषयमा कुनै छलफल नहुने बताइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन लगातयत नेटोमा आवद्ध देशका विश्वचर्चित नेताहरू यतिबेला लिथुआनियाको भिल्नियस पुगिसकेका छन् ।
बाइडेनले लिथुआनिया आउनु अगाडि मात्र अमेरिकाबाटै युक्रेनलाई प्रतिबन्धित क्लस्टर बम दिने घोषणा गरेका थिए । नेटोले युक्रेनलाई लगातार हतियार दिइरहेको छ । तर, नेटोमा आवद्ध गराउने विषयमा कुनै निणर्य भने नगर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुःखी छन् । जेलेन्स्कीले सोमबार रातिमात्र एक भिडियो सन्देश सार्वजनिक गर्दै युक्रेन नेटोको वास्तविक सदस्य भएको बताएका छन् ।
उनले नेटोका अधिकांश राष्ट्रले युक्रेनलाई यो गठबन्धनमा आवद्ध गराउन चाहेको पनि धारणा राखे । जेलेन्स्की यस विषयमा भन्छन्, ‘जब हामीले नेटो सदस्यताका लागि आवेदन दियौँ । हामीले त्यहीबेला प्रस्ट भनेका थियौँ कि युक्रेन नेटोको वास्तविक सदस्य हो र हामी पहिल्यैबाट यो गठबन्धनमा छौँ । किनभने हामीले प्रयोग गर्ने हतियार नेटोकै हो र हामीले विश्वास गर्ने मूल्यमान्यता नेटोकै अवधारण हो ।’
नेटोको सम्मेलन सुरु हुनअघि सोमबार मात्र रुसले युक्रेनलाई नेटोमा आवद्ध गराइएको खण्डमा आफूहरूले कडा प्रतिक्रिया दिने अभिव्यक्ति दिएको थियो । नेटो सामूहिक सुरक्षाको दृष्टिकोण बोकेको गठबन्धन हो । यो समूहले कुनै देशबाट आक्रमण भएको खण्डमा सामूहिक रूपमा प्रतिक्रिया दिने वाचा गरेको छ ।
नेटोमा आवद्ध हुन पाए रुसी खतराबाट बच्न सकिने युक्रेनको विश्वास छ । तर, हतियार सहयोग गरेता पनि नेटोले गठबन्धनमा आवद्ध गराउने विषयमा भने कुनै निणर्य गरेको छैन । -रोयटर्सको सहयोगमा