नयाँ दिल्ली । भारतको उत्तरपूर्वी दिल्लीमा दुई जना मजदुरको गोली हानी हत्या गरिएको छ । बुधबार बिहान करिब २ बजे उत्तरपूर्वी दिल्लीको वेलकम क्षेत्रमा दुई मजदुरको हत्या भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
त्यहाँका स्थानीयले मानिस मृत फेला परेको खबर गरेपछि करिब सवा २ बजे घटनास्थल पुगेको प्रहरीले दुई जनालाई गोली लागेर ढलेको अवस्थामा भेट्टाएको थियो ।
गोली लागेकाहरू वेलकम एरियाकै सुभास पार्क नजिक बस्ने ४० वर्षीय प्रदीपकुमार र जनता कोलोनीका ४० वर्षीय बब्लु मुजाहित रहेको डिसिपी जोए टिर्केले इन्डियन एक्सप्रेसलाई बताएका छन् ।
दुबै जनाको छाती र पेटमा गोली लागेको छ । प्रहरीले करिब तीन सय मिटरको दुरीमा प्रदीप र बब्लु ढलेको अवस्थामा फेला पारेको थियो । उनीहरूलाई उद्दार गरी जिटिबी अस्पताल पुर्याइएकोमा चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुबैजना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेको खुलेको छ । डिसिपी टिर्केका अनुसार बब्लुको यसअघि विभिन्न आपराधिक गतिविधिमा संलग्नता भेटिएको छ । उनीविरूद्ध लुटपाट, डकैती र चोरीका १३ वटा मुद्दा दर्ता रहेको डिएसपी टिर्केले जानकारी दिए ।
गएराति गोली प्रहार हुँदा प्रदीप र बब्लु सँगै रहेको प्रहरीको आँकलन छ । अज्ञात समूहले दुईमध्ये पहिला बब्लुमाथि गोली प्रहार गरेका थिए । बब्लु ढलेपछि भाग्दै गरेक प्रदीपमाथि गोली प्रहार भएको थियो । त्यसकारण उनीहरूको शव तीन सय मिटर दुरीमा भेटिएको उनले बताए ।
आक्रमणकारीहरूको अवस्था अझै अज्ञात रहेका बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको टोली गठन गरिएको र नजिकै रहेको सिसीटिभी फुटेजहरू संकलन भइरहेको प्रहरीले जनाएको छ ।