• जेष्ठ २६ २०८२, आईतवार

झापामा मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर छात्रको मृत्यु

असार २६ २०८०, मंगलवार

काठमाडौँ। झापाको एक विद्यालयको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका एक छात्रको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरु तिम्सिनाले बालक लिम्बुको मङ्गलबार बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। लिम्बु धुलाबारीको सानो साथी नामक मन्टेश्वरीमा अध्ययनरत थिए।

खाजा खाएर शौचालय जाँदा छात्रा लिम्बु सोही विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा सोमबार दिउँसो २ बजे खसेका थिए। उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पुर्‍याएको थियो।

बालकको २२ घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ। विद्यालयको लापरबाहीले बालकको ज्यान गएको अभिभावकहरू बताउँछन्। सेफ्टी ट्याङ्कीमाथि मक्किएको पलाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर−१० का वडाध्यक्ष नारायण खनालले बताए।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरू अध्ययनरत छन्। पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन्। घटना भए लगतै इलाका प्रहरी कार्यालय धुलाबारीले मन्टेश्वरीका सञ्चालक गुरुङलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ।