• मंसिर ६ २०८१, बिहीबार

अमेरिकामा उड्ने कारले पायो उडान अनुमति, कहिलेदेखि उड्छन् ती कार ?

असार २६ २०८०, मंगलवार

काठमाडौं । लामो समयदेखि मानिसहरूले उड्ने कारको कल्पना गरेका छन् । जसका कारण चलचित्रमा हामीले उड्ने कार देखेका छौँ । तर, पछिल्लो दशक विश्वले प्रविधिको क्षेत्रमा यसरी फड्को मारेको छ ।

प्रविधिले नै उड्ने कारको अवधारणालाई वास्तविकतामा उतारिदिएको छ । यतिबेला विश्वका विकसित राष्ट्र अमेरिका, चीन, जापानलगायत अन्य मुलुक उड्ने कारका कारण विकास गर्न सफल भएका छन् । ती कार पूणर्रूपमा चलाउन दिइएको छैन तर, सन् २०२८ पछि ती कारलाई हामीले कुँदेको र उडेको अवश्य देख्न सक्छौँ ।

किनभने उड्ने कार निर्माण गर्ने कम्पनीहरूले केही वर्षपछि ती कार व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने बताइसकेका छन् । उड्ने कारकै सन्दर्भमा यतिबेला अमेरिकाको अलेफ एरोनटिक्स कम्पनीले आफ्ना उड्ने कार परीक्षणका लागि अमेरिकी सरकारबाट अनुमति प्राप्त गरेको छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले क्यालिफोर्नियास्थित अलेफ एरोनटिक्स कम्पनीलाई ‘मोडल-ए’ नामक उड्ने कार परीक्षण गर्न अनुमति दिएको हो ।

अलेफले बनाएको उड्ने कार सामान्य कारजस्तै देखिने, त्यसैगरी चल्ने त्यसैगरी पार्क गर्न सकिने तर यसले विमानले जस्तै उडानसमेत भर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका सीईओ जिम डुकोभ्नीका अनुसार हालसम्म कानुनी झमेलाका कारण कम्पनीले उक्त उड्ने कारको डिजिटल रूपमा मात्र फोटो र भिडियो सार्वजनिक गरेको थियो ।

अब भने सीमित प्रमाणीकरणका साथ कम्पनीले उड्ने कारलाई वास्तविक रूपमा देखाउन पाउने भएको छ । जिमले चाँडै आफ्नो उड्ने कारलाई सार्वजनिक गर्ने र त्यसलाई कुदाएर र उडाएर देखाउने बताएका छन् । सन् २०२५ को अन्त्यसम्ममा यो कारलाई मानिसले ३ लाख अमेरिकी डलरमा खरिद गर्न सक्नेछन् । कम्पनीले कारलाई हेलिकोप्टर र प्लेनभन्दा पनि सुरक्षित बनाउने प्रयास गरिरहेको बताएको छ । -रोयटर्स