• जेष्ठ २६ २०८२, आईतवार

प्रचण्डले गरे गल्ती स्वीकार,‘त्यसदिन त्यस्तो नभनेको भए हुन्थ्यो’

असार २५ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ बताए ।

आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको दाहालले बताए ।

त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै उनले भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’ हालै सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको उनले सुनाए ।

‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ?’ प्रचण्डले अगाडि भने, ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोल्नुपर्ने स्वीकार गरेका उनले भने, ‘तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ । म ज्ञानुको बुबा भएर बोल्न पुगें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगें ।’ उनले स्वभावजन्य भावुकताका लागि आत्मसमीक्षा गरेको समेत उनले बताएका छन् ।