• जेष्ठ २६ २०८२, आईतवार

साउने सोमबारको व्रत सुरू भएसंगै पशुपतिमा भक्तजनको भीड

असार २५ २०८०, सोमबार

काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजदेखि व्रत सुरू भएको हो।

पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।