• जेष्ठ २६ २०८२, आईतवार

रुससितको लडाइँमा युक्रेन बन्यो अमेरिकी मोहडा : ५ सय दिनमा मारिए ९ हजार निर्दोष युक्रेनी

असार २३ २०८०, शनिबार

किभ । युक्रेन युद्धको ५ सय दिन पूरा भइसक्दा हालसम्म ९ हजारभन्दा धेरै आम नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका छन् ।

२०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेयताका ५ सय दिनमा युद्धमा मृत्यु हुनेको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको हो । युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले शुक्रबार यस्तो तथ्यांक सार्वजनिक गर्दै ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेको छ ।

साथै मृत्यु भएकाहरूको यकिन संख्या सरकारी आधिकारिक तथ्यांकभन्दा धेरै नै हुनसक्ने उक्त संगठनले जनाएको छ । तर २०२२ को तुलनामा यस वर्ष युक्रेनमा मृत्यु हुनेको संख्या औसतमा कम भए पनि मे र जुनमा यो संख्या फेरि बढेको अनुगमनकर्ताहरूले बताएका छन् ।

यसैबीच जुन २७ मा पूर्वी युक्रेनको क्रामातोर्सकमा रुसी सेनाको मिसाइल आक्रमणबाट चार बालबालिकासहित १३ जना आम नागरिक मारिएका थिए ।

यस्तै युक्रेनको पश्चिमी सहर लिभिभमा बिहीबार बिहान मिसाइल आक्रमणकै क्रममा १० जना मारिनुका साथै ३७ जना घाइते भएका थिए । संयुक्त राष्ट्रसंघका अनुसार रुस समर्थित पृथकतावादीहरूले क्रिमिया र अन्य क्षेत्रहरू कब्जा गर्दा पूर्वी युक्रेनमा अघिल्लो आठ वर्षको आक्रमणमा भएको क्षतिको तुलनामा पछिल्लो ५ सय दिनमा त्यसको तीन गुणा धेरै मानिस मारिएका छन् ।

शुक्रबार अमेरिकाले भने युक्रेनको फौजलाई थप हतियार प्रदान गर्ने जनाएको छ तर हतियार प्रदान गर्ने अमेरिकाको घोषणालाई संयुक्त राष्ट्रसंघसहित अन्य देशहरूले विरोध जनाएका छन् । खासमा हालको युद्ध रुस र युक्रेनबीच देखिएपनि यो युद्ध रुस र पश्चिमा देशहरुकाबीचको हो ।

रुसलाई घेरा हालेर सिध्याउने योजनामा रहेको अमेरिकाले युरोपयन देशहरुलाई प्रयोग गरिरहेको छ । यसअघि भएका विभिन्न सन्धिहरु अमेरिकाले उल्लंघन गर्दै रुसलाई घेराहालेपछि त्यसको जवाफ आजको रुसले दिइरहेको छ । तर अमेरिका रुससित आफै नलडेर युक्रेनलाई प्रयोग गरिरहेको छ ।

यसको शिकार बनेका छन् निर्दोष युक्रेनी जनता । भोलोदोमिर जेलेन्स्की जस्तो विवेकहीन शासकका कारण आज युक्रेनी जनताले दुःख पाइरहेका छन् ।