• जेष्ठ २६ २०८२, आईतवार

प्रचण्ड भारत भ्रमण गएका बेला भारतीय गुप्तचरलाई उनको घरमै गएर भेटेको ओलीको दाबी

असार २२ २०८०, शुक्रबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए ।

उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताए । उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्र हितका पक्षमा कुनै कुरा नगरेको बताए ।

अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था छ तर लोकतन्त्र र कानुनी राज नरहेको जिकिर गरे । उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको बताए ।

उनले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए । नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनैपनि स्थानमा भेट्न तयार रहेको बताए । उनले सत्तापक्षले घमन्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनैपनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे । ओलीले कोशी प्रदेशमा सभामुख सहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताए ।

उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हितहरूलाई जन्मदिनको केक झैँ काटेको धारणा राखे । उनले राष्ट्रपतिबाट संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण भएको बताए । उनले संविधान अनुसार अघि बढाउनुपर्ने विषय मन्त्रिपरिषदबाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताए ।

उनले वर्तमान सत्ता गठबन्धन सत्ताको उन्मातमा रुमल्ल्एिको बताए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्ष पोषण गरेको आरोप समेत लगाए । अध्यक्ष ओलीले बालुवाटार, शीतल निवास लगायतका अनियमताका घटनाहरूको सत्य तथ्य छानबिन गर्न एमाले तयार रहेको धारणा राखे ।