काठमाडौँ । कांग्रेसका जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार र शुक्रबार चलेको बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गरेको छ । बैठकमा उपस्थित जिल्ला सभापतिहरुले धारणा राखेका थिए ।
बैठकको समापनको क्रममा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका कांग्रेसले जनाएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निर्णय लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भए पनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । सभापति देउवाले बुधबारमात्रै केन्द्रीय समितिको बैठक २७ असारदेखि बस्ने गरी आह्वान गरेका छन् ।
निकट नेताहरूका अनुसार बुधबार बिहान बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले जिल्ला सभापतिहरूसँग भेलाबारे जानकारी गराएका थिए । महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा भएको जिल्ला सभापतिहरूको बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल भएको थियो ।
बैठक उद्घाटनका क्रममा महामन्त्रीद्वय थापा र शर्मा र नेता डिगबहादुर लिम्बूलगायतका नेताहरू सहभागी थिए । १४औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरूपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । तर भेलामा सभापति शेरबहादुर देउवा सहभागी भएनन् ।
पार्टीमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका महामन्त्रीद्वय थापाले यसअघि अब आफूहरूको जिम्मेवारीमा पर्ने काम गर्न सभापतिलाई पर्खिएर नबस्ने अभिव्यक्ति दिएका थिए ।