काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने जनाएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ)समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ ।
यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने अवस्था छ । त्यसैले यदि कसैको सच्याउन पर्ने भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा र सिफारिस लिएर आउनु हुन अनुरोध छ ।’
यदि कसैले नागरिकता प्रमाण पत्र लिइसकेको र सोही अनुसार सच्याउन पर्ने भए पनि ६ महिनाभित्रै सच्याउनको लागि निवेदन दिनुपर्नेछ ।