आजभोलि विश्वका धेरै देशका सरकार र जनतामा राष्ट्रवाद सवार भएको छ । त्यसमा पनि खास गरेर विभिन्न देशका राजनीतिक दल तिनका नेताहरूले राष्ट्रवादको नारालाई सत्तामा पुग्ने भर्याङ बनाउने गरेको देखिन्छ ।
उनीहरूले राष्ट्रवादको नारा दिएर निर्वाचन जितेर सत्तामा पुग्ने गरेको समेत देखिन्छ । हुन पनि इतिहास हेर्दा जुनजुन देश विदेशीको शासन सत्ताको जाँतोमुनी पिल्सिएका थिए, त्यसबेलाका शासकहरूले आफ्नो भाषा र आफ्नो शासक अथवा प्रसिद्ध व्यक्ति वा धार्मिक नामहरू राखेको थिए ।
ती नामहरू अहिले आएर विदेशीले आफ्नो भाषा, आफ्नो देशका प्रसिद्ध व्यक्तिहरू, धार्मिक आदि नाममा राखेका स्थान नाम, हिमालको नाम, खोलानालाको नाम, सहरबजार आदिको नाम हटाएर, मेटेर अथवा भनौं विस्थापित गरेर सम्बधिन्त देशकै राष्ट्रको भाषा, प्रसिद्ध व्यक्ति, धार्मिक नेता आदिको नाम राख्न थालेका छन् ।
यसमा भारत अगाडि रहेको छ । त्यस्तै गरेर ‘टर्की’ भनी चिनिने देशले केही समयअघि आफ्नो देशको नयाँ नाम ‘तुर्किएँ’, ‘तुर्किए’ भनी राखेको छ । सो सम्बन्धमा टर्कीका अधिकारीहरूले आधिकारिक रूपमा संयुक्त राष्ट्र संघमा जनाउ दिइसकेका छन् ।
त्यस्तै छिमेकी देश भारतको कुरो गर्दा ‘पश्चिम बङ्गाल’को राजधानी ‘कोलकाता’को नाम विगतमा ‘कलकत्ता’ भनी पुकारिन्थ्यो । त्यस्तै ‘चेन्नइ’ को नाम ‘मद्रास’ र महाराष्ट्रको राजधानी मुम्बई’को नाम ‘बम्बइ’ रहेको थियो ।
त्यस्तै गरेर दक्षिपूर्वी एसियाली देश ‘म्याँमार’ वा ‘म्यानमार’लाई ‘बर्मा’ अनि ‘म्यान–म्याँमार’को राजधानीको नाम ‘याँगनु–यांगुन’लाई ‘रङ्गुन’ बनायो । स्मरणीय छ, म्यामारले पछिल्लो पटक ‘याङ्गुन’लाई विस्थापित गरेर नयाँ राजधानी ‘न्यापिडी–न्यापिडीए’ भन्ने नयाँ सहरमा स्थापित गरेको छ ।
यसरी विगतमा विश्वका अधिकांश देशले आफ्ना देशमा रहेका विदेशी भाषा र विदेशी व्यक्तिका नाममा रहेका हिमाल, सहर, बजारहरू जुनजुनको नामजुनजुन साम्राज्यवादी देशहरूले आफ्नो साम्राज्य चलाएका बेला नाम राखेका थिए, ती ती नामहरू हटाइसकेका छन् ।
देशमा हुन पनि ती साम्राज्यवादी देशका शासकहरूले आआफ्नो देशको भाषा, भेषभूषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज, चालचलन, कानुुनका साथै मालसामान र खाने कुरोसमेत आफ्नै देशबाट लगेर त्यहाँका जनतालाई सुरूमा सित्तैमा वा एकदमै थोरै मूल्यमा बेचे ।
भनिन्छ पछि त्यसरी सित्तैमा वा धेरै कम मूल्यमा बेचेका सरसामान, लत्ताकपडा, भाँडाकुँडाआदि पछि ४ देखि ५ दोब्बर मूल्यमा बेचे ! जस्तो कि दक्षिण भारतजस्तो गर्मी ठाउँमा बेलायतीहरूले सित्तैमा चियापत्ती र चिनी वितरण गरेका थिए अरे ?!
तर जब भारतको दक्षिणी क्षेत्र र अन्य गर्मी मौसम भएका क्षेत्रका भारतीयहरूमा चिया र चिनीको लत (आदत) ले छाड्नै नसक्ने स्थिति पैदा भयो, तब ती ठाउँमा परल मूल्यभन्दा धेरै बढी असुल्दै चिया र चिनीको व्यापक बिक्री–वितरण सुरू गरे ।
त्यस्तै अङ्ग्रेजी भाषाको त कुरै नगरौं । किनभने जजसले जेजे भने तापनि अहिले आएर विश्वभरिकै मानिसहरूले वैकल्पिक रूपमा बोल्ने भाषा ‘अंग्रेजी’ भएको छ । त्यस्तै वेशभूषाको कुरो गर्दा ‘कोट’कै कुरो गरौं ।
आजका दिनमा जुनसुकै देशका जति नै राष्ट्रवादी हुँ भन्ने मान्छेहरूले पनि आफ्नो जीवनमा एक पटक ‘कोट’ लाएकै हुन्छ । जबकि ‘कोट’ लगाउने सुरूआत ‘अंग्रेज’हरूले नै गरेका हुन् भन्ने आमबुझाइ रहेको छ । यो बुझाइ सत्य हो–होइन, जाँचपरख गर्ने काम विज्ञ पाठकको हो ।
माथिको छोटो प्रसङ्ग किन लेखेको हो भने हाम्रो देशमा पनि धेरै हिमालका नाम विदेशी भाषामा रहेका छन् । विदेशी भाषामा पनि अङ्ग्रेजी भाषामा नाम रहेका हिमाल अलि धेरै छन् । त्यसो त अंग्रेजी भाषाबाहेक फ्रेन्च, जर्मन, जापनिज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम रहेका छन् ।
हिन्दु देवीदेवताका नाममा रहेका हिमाल पनि निक्कै धेरै छन् भने केही हिमालका नाम स्वदेशी तथा विदेशी प्रसिद्ध व्यक्तिहरूका नाममा पनि रहेका छन् । जस्तोे ‘सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । सो हिमाललाई आदिअनादि कालदेखि उक्त हिमालको वरिपरि बस्दै आएका
दक्षिणतर्फका कुलुङ लगायत अन्य किराती, शेर्पा र उत्तरतर्फको तिब्बतमा बस्दै आएका आदिवासीहरूले ‘चोमोलुङमा’ भन्थे–भन्छन् ।
तर विडम्बना के थियो भने, त्यो बेला आजको जस्तो सुचना, सञ्चार र प्रविधिको विकासले जगजगी मच्चाएको जमाना थिएन ।
त्यसैले सगरमाथाकोे दक्षिणतर्फ बस्ने, बसेका आदिवासी जनजातिहरूले आफ्नो मातृभाषाको नाम ‘चोमोलुङमा’ अरूले हरेर, चुँडेर ‘सगरमाथा’, ‘एभरेस्ट’ वा ‘थर्डपोल’लगायत अनेकौं नाम राखेको थाहा पत्तो पाएनन् ।
यो लेखमा त्यस्ता केही उदाहरणहरू दिइएको छ । जस्तै पूर्वको कञ्चनजङ्घा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुन त कञ्चनजङ्घा हिमाललाई लिम्बु जातिले आफ्नो भाषामा ‘सेवालुङ’÷‘सेन्छेलुङ’ भन्छन् ।
त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बु जातिले ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बुलगायत किरातीहरूले आफ्नो आराध्यदेवको रूपमा पनि पुज्ने–मान्ने गर्छन् ।
तर, अधिकांश विदेशीहरूले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्दछन् । त्यस्तै खुम्बु क्षेत्रमा केही हिमालको नाम विदेशी भाषामा रहेका छन् । जस्तो कि, आइल्यान्ड पिक, पिक–२९ आदि ।
त्यस्तै गरेर लाङटाङ हिमाल क्षेत्रमा चाहिँ मोरीमोतो नामको हिमाल र अर्को चाहिँ स्काउटका जन्मदाता बाडेन पावेलको नाममा ‘बाडेन पावेल हिमाल’ रहेको छ । ‘बाडेन पावेल’को खास नाम ‘उर्किमा’ हो ।
खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरू पनि त होलान् नि, अन्य देशमा ? कि कसो हौ ? हो, यस बारेमा केही चर्चा गरौं ।
युरोप महादेशको स्वीट्जरल्यान्ड भन्ने देशमा ‘गोर्खाचुली’ नाम गरेको एक ‘हिमाल’ रहेको छ । पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा बहादुरीका साथ नेपालीहरू खासगरी मगर, गुरूङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ (‘राई !’) युद्घ लडेका थिए ।
त्यसैले सम्पूर्ण नेपालीलाई नै ‘बहादुर, गोर्खा, गुर्खा, गुर्का’ आदि नामले चिनिने गरिन्छ। साथै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो, स्थापित भयो ।
डाक्टर हर्क गुरूङका अनुसार सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मै नेपालका कुनै हिमाल विदेशीले नचढ्दैका बेला नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले युरोपको आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक अज्ञात चुली चढेका थिए । पछि सो चुलीको नाम ‘गोर्खाचुली’ राखिएको थियो ।