• जेष्ठ २६ २०८२, आईतवार

माओवादी केन्द्रले भन्यो,‘प्रधानन्त्रीको सदाशयपूर्ण अभिव्यक्तिलाई दुराशयमा बदलेर भ्रम छर्न खोजियो’

असार २१ २०८०, बिहीबार

काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर एमालेले गरेको भ्रामक र आपत्तिजनक प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन् । सरदार प्रितम सिंह र प्रधानमन्त्री दाहालका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट पारेका छन् ।

सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भत्र्सना गरेको छ ।
राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन् ।