• जेष्ठ २६ २०८२, आईतवार

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाई

असार २१ २०८०, बिहीबार

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताए ।

संसद् बैठक अवरोध गर्ने दलहरुले यो कुरालाई स्वीकार गरेर संसद् सञ्चालन गर्न सहयोग गर्ने विश्वास रहेको उनले व्यक्त गरे ।प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए।

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने बताउँदै उनले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए ।फरक प्रसङ्गमा उनले मिटरब्याजीविरुद्धको अध्यादेश निष्क्रिय भए पनि पीडितलाई न्याय दिने काम नरोकिने बताए।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि बढाइरहेको भन्दै उनले प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको बताए ।दोषी फेला परे त्यसलाई कानुनको दायरामा ल्याउन सरकारपछि नहट्ने उनको भनाइ छ ।