• जेष्ठ २६ २०८२, आईतवार

कमल थापाको राप्रपाले फेरि राजा ज्ञानेन्द्रको फेरो समाउने

असार २० २०८०, बुधबार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नितिमा पुनर्विचार गर्ने बताएका छन् । मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा नीतिमा पुनर्विचार गरिने बताए ।

आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिस्टप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरू सत्ता केन्द्रित भएको भएको भन्दै २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाइ हुने बताए ।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै सबै जनवर्गीय संगठनहरूलाई संगठन विस्तार केन्द्रित हुन निर्देशन दिए । भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनुपर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे ।

राप्रपा नेपाल असल विचार, निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता व्यक्त गरे ।