• जेष्ठ २६ २०८२, आईतवार

संसदीय समितिका सभापति चयन गर्न प्रक्रिया अघि बढाउने शीर्ष नेताको सहमति

असार १९ २०८०, मंगलवार

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।

लामो समयदेखि समितिका सभापति चयन हुन नसक्दा महत्त्वपूर्ण विधेयकमाथि छलफल अघि बढ्न सकेको छैन । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए ।

उनले राजनीतिमा देखिएका विकृति, विसङ्गति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए ।