• बैशाख ६ २०८२, शनिबार

दुबईमा मृत्यु भएका पर्वतका बिमलका परिवारले पाए बीमा वापतको रकम रु.१४ लाख

असार १९ २०८०, मंगलवार

बागलुङ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा मृत्यु भएका पर्वतका बिमल सार्कीका परिवारले बीमा गरे वापतको रु १४ लाख रकम प्राप्त गरेका छन् ।

पर्वत जिल्ला कुश्मा नगरपालिका-३, दुर्लुङ स्थायी घर भई रोजगारीको लागि दुबई गएका बिमलको ०७९ चैत्र २७ गते रोजगारकै सिलिसलामा मृत्यु भएको थियो ।

वैदेशिक रोजगारीमा जानुअघि बिमलले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमार्फत् वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेशिक रोजगारीमा गएको एक वर्ष नपुग्दै उनको मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक बिमलकी श्रीमती विष्णु सार्की लाई रू. १४ लाखको चेक हस्तान्तरण गरे ।

बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको प्रतिकृया दिँदै सार्कीले सो रकम पाएपछि बीमा कम्पनीप्रति आभार व्यक्त गरिन् । साथै उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउँदै भुक्तानी स्वरुप पाएको केही रकमले पुनः आफ्नो नाममा बीमा समेत गरेकी छिन् ।