• बैशाख ९ २०८२, मंगलवार

सांसद देवकोटा भन्छन् ‘प्लस टु पढेर विद्यार्थी  विदेश गइहाल्छन्, किन खोल्न पर्यो विश्वविद्यालय ?’

असार १८ २०८०, सोमबार

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए । सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरू धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।

सांसद देवकोटाले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क समेत गरे ।