• फाल्गुन २६ २०८२, मंगलवार

शरणार्थी क्याम्पभित्रै घुसेर इजरायली सेनाले गर्यो हमला

असार १८ २०८०, सोमबार

काठमाडौं । इजरायल नियन्त्रित वेस्ट ब्यांकको जेनिनस्थित शरणार्थी क्याम्पमा सोमबार बिहानै इजरायली सैनिकहरूले आक्रमण गरेका छन् ।

इजरायलका अनुसार शरणार्थीहरूलाई आक्रमण गर्नका लागि जेनिन क्याम्पभित्र आक्रमण गरिएको थिएन । त्यहाँ आतंकवादी लुकेको हुनाले आफूहरूले आक्रमण गरेको र यस अभियानमा सात जना हतियारधारी आतंकवादी मारिएको इजरायलले बताएको छ । तर, प्यालेस्टाइनका स्वास्थ्यकर्मीहरूले भने यस घटनामा पाँच जना सर्वसाधारण मारिएको र ३० जना घाइते भएको बताएका छन् ।

आज बिहानै इजरायली सेना ड्रोन र मिसाइल आक्रमण गर्दै जेनिन क्याम्पभित्र घुसेका थिए । त्यसपछि त्यहाँ गोलाबारी भएको थियो । इजरायलका अनुसार आफूहरूले क्षेप्यास्त्र र ड्रोन हमला गरेको भवनमा जेनिन ब्रिगेडका लडाकुहरूले इजरायलविरुद्ध आक्रमणको योजना बनाउँथे ।

हमास र इस्लामिक जिहादसँग यो समूहको सम्बन्ध भएको पनि इजरायल बताउँछ । आतंकवादीका हतियारहरू कब्जा गर्न र प्यालेस्टिनी लडाकुहरूका लागि सुरक्षित आश्रयस्थल बनेको स्थानलाई खाली गर्न पछिल्लो ‘आतंकवाद विरुद्धको अभियान’ सञ्चालन गरिएको इजरायलले जनाएको छ ।

सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलले वेस्ट बैंकसँगै पूर्वी जेरुसेलम र गाजा स्ट्रिप कब्जा गरेको थियो ।   प्यालेस्टाइनीहरूले ती भूभागहरू आफ्नो स्वतन्त्र राज्य भएको दाबी गर्छन् । सोही कारण ती क्षेत्रहरूमा प्यालेस्टाइनका सशस्त्र समूह र इजरायलबीच द्वन्द्व भइरहन्छ । बीबीसीको सहयोगमा